
वीरगंज : खानेपानी मन्त्री प्रदीप यादवले नेपाल खानेपानी संस्थान वीरगंज कार्यालयको छड्के अनुगमन गर्नु भएको छ। निरीक्षणका क्रममा मन्त्री यादवले संस्थान र कर्मचारीहरूको कार्यप्रणालीको समिक्षा गर्दै जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने खानेपानी सेवाको प्रभावकारिता र निरन्तरतामा जोड दिनु भएको छ।
हालसालै जलवायु परिवर्तनका प्रतिकूल असरले विशेषगरी तराई–मधेस क्षेत्र र वीरगंज महानगरपालिकामा खानेपानी अभावको समस्या गम्भीर बन्दै गएको मन्त्री यादवको भनाइ थियो। यस चुनौतीलाई समयमै सम्बोधन गर्न खानेपानी संस्थानले अन्य सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै तुरुन्त समाधानमुखी कदम चाल्नुपर्नेमा उहाँले जोड दिनुभयो।
“जनताको आधारभूत अधिकारका रूपमा खानेपानीको पहुँच सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व हो,” मन्त्री यादवले भन्नुभयो, “सबै तहका सरकारी संयन्त्रहरू जिम्मेवारीपूर्वक अघि बढ्न आवश्यक छ।”
मन्त्री यादवले वीरगंजस्थित खानेपानी संस्थानका कर्मचारीहरूलाई जनसेवाको भावनाले अहोरात्र खटिन र आवश्यक सल्लाह र सहकार्यका लागि सम्बन्धित मन्त्रालयसँग निरन्तर सम्पर्कमा रहन पनि निर्देशन दिनुभएको छ।

छड्के अनुगमनबाट सेवा प्रवाहमा सुधार आउने अपेक्षा गरिएको छ। मन्त्रीको सक्रियताले खानेपानी व्यवस्थापनमा थप गति र जिम्मेवारी ल्याउने जनअपेक्षा छ।
वीरगञ्जमा हातेकलहरु सुकेपछि खानेपानी संस्थानको वीरगञ्ज शाखामा उपभोक्ताको चाप बढेको छ । खानेपानी संस्थानमा दैनिक सयको हाराहारीमा नयाँ धारा जडानको निवेदन लिएर आउने गरेको संस्थानका कार्यालय प्रमुख ई.प्रवीण शाहले जानकारी दिनुभयो।
उहाँका अनुसार नयाँ धारा जडानका लागि निवेदन लिएर आउने उपभोक्ताको संख्या असार लागेपछि दैनिक रुपमा बढिरहेका छन् । सुरुमा दिनको ३०/४० वटा मात्र आए पनि अहिले बढेर दैनिक सयको हाराहारीमा आउन थालेका छन् ।
वीरगन्जको खानेपानी समस्या समाधानका लागि भन्दै खानेपानीमन्त्री प्रदीप यादव बारा र पर्साका विभिन्न स्थानहरुको निरन्तर स्थलगत अवलोकन भ्रमणमा हुनुहुन्छ ।


557 पटक हेरिएको 

