
नवलपरासी : बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले बर्दघाट–४ स्थित बाढीपीडित नवकालिका टोलमा नयाँ डिप बोरिङ्ग गर्ने कार्य शुरु गरेको छ। शुक्रबार आयोजित एक कार्यक्रमका बीच संस्थाका अध्यक्ष दीपक लम्साल सहितले विधिवत पूजा–अर्चना गरी डिप बोरिङ्ग गर्ने कार्यको शिलान्यास गर्नुभएको हो।
शिलान्यास कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य, सल्लाहकार तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, बुटवलको ३४ लाख ७७ हजार २ सय ६३ रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त बोरिङ्गको निर्माण कार्य शैलुङ कन्ट्रक्सनले गर्ने भएको छ। कम्पनीका प्रतिनिधि अमृत खड्काका अनुसार निर्माण कार्य आगामी ६ महिनाभित्र सम्पन्न गरी उपभोक्ता समितिलाई हस्तान्तरण गरिनेछ।
विगतमा बाढीपीडित क्षेत्रमा रहेको पुरानो बोरिङ्ग बिग्रिएपछि नयाँ बोरिङ्ग गडान गर्न लागिएको अध्यक्ष लम्सालले जानकारी दिनुभयो। हाल संस्थाको परिसरमा ३ वटा डिप बोरिङ्ग सञ्चालनमा रहेका छन् भने बाढीपीडित क्षेत्रमा एक बिग्रिएको र एक सञ्चालनमै रहेको बोरिङ्ग रहेको सचिव शोभकान्त कोईराला ९शिव०ले बताउनुभयो।
त्यसैगरी, जंगलको मुहान क्षेत्रबाट समेत २ वटा मूलको पानी शुद्धिकरण गरी वितरण गरिँदै आएको सचिव कोईरालाले जानकारी दिनुभयो। हाल संस्थाले करिब १८ सय घरधुरीलाई लक्षित गर्दै ४ हजार २ सय २ जना उपभोक्तालाई २४ सै घण्टा शुद्ध खानेपानी वितरण गरिरहेको छ।
स्थानीय उपभोक्तालाई थप सुरक्षित र नियमित पानी आपूर्तिमा सहयोग पुगोस् भन्ने उद्देश्यले बर्दघाट नगरपालिकाले अघि सारेको ‘एक घर, एक धारा अभियान’लाई समेत संस्थाले सक्रिय साथ दिएको छ। साथै नगरस्तरीय प्रयोगशाला समेत सञ्चालनमा ल्याएर पानीको गुणस्तर जाँचको व्यवस्था मिलाइएको सचिव कोईरालाले बताउनुभयो।


374 पटक हेरिएको 

