
इलाम : प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई बृहत खानेपानी आयोजनाको शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शनिबार माई नगर अस्पताल उद्घाटन, अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गर्नुका साथै माई बृहत खानेपानी आयोजनाको पनि शिलान्यास गर्नुभएको हो ।
माई बृहत खानेपानी आयोजना अन्तर्गत दुई वटा स्कीम रहेका छन् । प्रधानमन्त्रीद्वारा शिलान्यास गरिएको स्कीम नम्बर २ हो । स्कीम नम्बर २ बाट माई नगरपालिकाको वडा नं. ६, ७ र ८ का गरी ११ हजार २ सय ९४ जनसख्या लाभान्वित हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामका आयोजना प्रमुख उत्सव पोख्रेलले जानकारी दिनुभयो।

आयोजना प्रमुख पोख्रेलका अनुसार आयोजना अन्तर्गत माई नदीको किनारमा एउटा सम्पवेल, ९६ किलोमिटरको कुल पाइपलाइन र २० देखि १०० घनमिटर सम्मका ६ वटा ट्याङ्कीहरु निर्माण हुनेछन् ।
पानी शुद्धिकरणका लागि प्रेसर फिल्टर र सेडिमेन्टेसन ट्याङ्की पनि निर्माण गरिने उहाँले बताउनुभयो। उहाँका अनुसार यस आयोजनाका लागि आर्थिक बर्ष ०८१/०८२ मा अर्थमन्त्रालयबाट २५ करोड बराबरको स्रोत सुनिश्चितता प्राप्त भएको छ ।
दुवै स्कीमका लागि ७० करोड ९२ लाख ६७ हजार ४ सय ३२ रुपैयाँ लागत अनुमान गरिएकोमा स्कीम दुई निर्माणका लागि १६ करोड ९४ लाख ४९ हजार ८८ रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।


349 पटक हेरिएको 

