
जनकपुरधाम : मधेश प्रदेश सरकारले मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरी खानेपानी र सिँचाइ समस्याको समाधानका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थालाई सहयोगको आह्वान गरेपछि वर्ल्ड भिजन इन्टरनेशनल नेपालले आफ्नो साझेदार संस्था मार्फत मधेशका जोखिममा परेका परिवार र समुदायलाई लक्षित गर्दै साना सिँचाइ तथा खानेपानीको सहयोग विस्तार गरेको छ।
विपन्न वर्गका कृषकहरूलाई लक्षित गरी वर्ल्ड भिजनले महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा १८ घरधुरी र सम्सी गाउँपालिकामा ३२ घरधुरीलाई साना सिँचाइको सहयोग गरेको छ। यस्तै, सर्लाहीको हरिपुर्वा नगरपालिकामा ५० घरधुरी र रौतहटको माधवनारायणमा ४७ घरधुरीलाई सिँचाइ सुविधा उपलब्ध गराइएको छ। यी कार्यक्रमहरू स्थानीय साझेदार संस्थाहरु ग्रामीण विकास समाज, राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र सर्लाही र ग्रामीण विकास केन्द्र रौतहटको सहकार्यमा सम्पन्न गरिएको हो।
यस्तै खानेपानीको अभाव भोगिरहेका स्थानहरूमा समेत वर्ल्ड भिजनले चापाकल जडान गरेर समस्या समाधानमा सहयोग पुर्याएको छ। हालसम्म सर्लाहीको हरिपुर्वामा ९३ घरधुरी, पर्सामा ४२, महोत्तरीको एकडारामा ५५ र सम्सी गाउँपालिकामा ३१४ वटा चापाकल जडान भइसकेको छ।
वर्ल्ड भिजन मधेश प्रदेशका प्रमुख विनय अमात्यले तत्काल आवश्यकतामा रहेका क्षेत्रहरूमा खानेपानीको आपूर्ति सुनिश्चित गर्न स्थानीय तहसँग निरन्तर समन्वय भइरहेको जानकारी दिनुभयो।
उहाँले वर्ल्ड भिजनले आफ्नो कार्यक्षेत्रमा खानेपानी र सिँचाइका तत्काल तथा दीर्घकालीन समाधानका लागि स्थानीय सरकारसँग सहकार्य गर्दै थप कार्यक्रमहरु सञ्चालन गरिरहेको समेत बताउनुभयो।


390 पटक हेरिएको 

