
काठमाडौ : तराई मधेसमा देखिएको खानेपानी समस्यालाई तत्काल समाधान गर्न दुई छुट्टाछुट्टै समिति गठन गरी स्थलगत अनुगमन सुरु गरिएको छ।
खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका आयोजना निर्देशक नारायण प्रसाद आचार्य र विभागका उपमहानिर्देशक बालमुकुन्द श्रेष्ठको संयोजकत्वमा छुट्टाछुट्टै समिति गठन गरी आजै परिचालन गरिएको हो ।
आयोजना निर्देशक आचार्यको संयोजकत्वमा गठन गरिएको समितिमा खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका सिडिई मिहिर चन्द्र आचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका इन्जिनियर किरण विष्ट सदस्य र केन्द्रिय खानेपानी आयोजनाका सिडिई.सुधिर कुमार साह सदस्य सचिव हुनुहुन्छ । समितिलाई १० दिनभित्र अनुगमन प्रतिवेदन तयार गरी विभागमा पेश गर्ने जिम्मेवारी दिइएको छ।
त्यसैगरी उपमहानिर्देशक श्रेष्ठको संयोजकत्वमा गठित समितिमा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय वीरगञ्जका प्रमुख विपुल कुमार लाल दास, इन्जिनियर प्रदीप कुमार साह सदस्य तथा खानेपानी तथा ढल व्यवस्थापन विभागका सिडिई चन्द्र कुमार पाँ श्रेष्ठ सदस्य सचिव हुनुहुन्छ ।
दुबै समितिलाई सम्बन्धित जिल्लाहरूमा स्थलगत अध्ययन, अनुगमन, विश्लेषण गरी खानेपानी समस्याको समाधानका लागि आवश्यक सुझाव सहित प्रतिवेदन पेश गर्न भनिएको छ।
आयोजना निर्देशक आचार्यले संयोकत्वको समितिले खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, जनकपुरको क्षेत्रभित्र पर्ने धनुषा, महोत्तरी, सिरहा र सप्तरी जिल्लाहरु र उपमहानिर्देशक श्रेष्ठको संयोजकत्वमा गठित समितिले खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, वीरगञ्जको क्षेत्रभित्र पर्ने पर्सा, वारा, रौतहट र सर्लाही जिल्ला विभिन्न क्षेत्रको अध्ययन गरी प्रतिवेदन बुझाउनेछ ।
खानेपानी मन्त्रालयले यस कार्यलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै सम्भावित दीर्घकालीन योजना तथा आकस्मिक समाधानहरू पनि तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। प्रभावित क्षेत्रहरूमा बोरिङ, पानी ट्यांकर मार्फत आपूर्ति, तथा सामुदायिक जलस्रोत व्यवस्थापनको अध्ययन पनि समितिहरूको कार्यक्षेत्रमा रहेको छ।
खानेपानी तथा ढल व्यवस्थापन विभागका उपसचिव गणेश विक्रम शाहीका अनुसार प्रतिवेदनका आधारमा तिव्र गतिमा राहत तथा पूर्वाधार निर्माण कार्य अघि बढाइने छ।


650 पटक हेरिएको 

