मधेश प्रदेशका १० पालिकामा ६० दिने आपतकालीन कार्यक्रम

  वास खबर सम्बाददाता  413 पटक हेरिएको
🔗
24
Shares

काठमाडौ : खडेरीको मारमा परेको मधेश प्रदेशमा ६० दिने आपत्‌कालीन कार्यक्रम सुरु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वय र बेलायत सरकारको सहयोगमा सञ्चालित ‘स्टार्ट फन्ड नेपाल’ परियोजना अन्तर्गत उक्त कार्यक्रम सञ्चालनमा आएको हो ।

कार्यक्रम खडेरी प्रभावित पर्सा, बारा, रौतहट, सर्लाही, सिराहा र सप्तरीका विभिन्न १० पालिकामा सञ्चालन हुने मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहका प्रेस सल्लाहकार अवधेश झाले जानकारी दिनुभयो।

स्टार्ट फन्ड नेपाल तथा साझेदार संस्थाहरूको समन्वयमा सञ्चालन हुने यो कार्यक्रमबाट ८ हजार ३ सय ५५ घरधुरीका करिब ४४ हजारभन्दा बढी नागरिक लाभान्वित हुनेछन् । कार्यक्रमका लागि कुल २ करोड ६० लाख ३३ हजार ४ सय ७६ रुपैयाँ बजेट विनियोजन गरिएको प्राधिकरणले जनाएको छ ।

कार्यक्रमलाई तीन चरणमा विभाजित गरिएको छ । जसमा पहिलो चरणमा पानी आपूर्ति गर्ने र दोस्रो चरणमा बोरहोल खन्ने सम्भाव्यता अध्ययन, अवस्थित सिँचाइ प्रणालीको सुधार र सरकारी समन्वयमा दिगो पानी प्रणाली निर्माण गरिनेछ ।

तेस्रो चरणमा कृषकहरूका लागि ‘क्यास फर वर्क’ कार्यक्रम, सिँचाइ मर्मत र वैकल्पिक बाली प्रवर्द्वनमा प्राविधिक सहयोग गर्ने कार्यक्रम रहेको सल्लाहकार झाले बताउनुभयो।

सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (१) बमोजिम मधेश प्रदेशभर विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरी यही साउन ८ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरेको थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार