
सिरहा : लहान नगरपालिकाले सन् २०३० भित्र नगरका सबै घरमा शुद्ध खानेपानी पुर्याउने महत्वाकाङ्क्षी योजना सार्वजनिक गरेको छ। नगरप्रमुख महेशप्रसाद चौधरीले बिहीबार पत्रकार सम्मेलन गरेर खानेपानी र सरसफाइलाई प्रमुख प्राथमिकतामा राखिएको बताउनुभयो।
नगर प्रमुख चौधरीले भन्नुभयो ‘हामीले २०३० सम्म २४ वटै वडामा पानी पुर्याउने योजना बनाएका छौँ।’
योजना अनुसार प्रारम्भिक चरणमा वडा नम्बर १३, १४, १६ र २४ मा पाइपलाइन जडान गरिनेछ भने आगामी वर्षभित्र वडा नम्बर ११, १२, १८ र २० मा योजना विस्तार गरिने नगर प्रमुख चौधरीले जानकारी गराउनुभयो।
नगरका चार सय दलित तथा विपन्न परिवारलाई निःशुल्क धारा जडान गरिने जनाइएको छ। यस्तै खानेपानीसँगै लहानलाई खुला दिसामुक्त क्षेत्र सुनिश्चित गर्ने लक्ष्य सार्वजनिक गरिएको छ।
आगामी वर्षभित्र तीन हजार शौचालय निर्माण गरी खुला दिसामुक्त अवस्थाको दिगोपना सुनिश्चित गरिने नगरप्रमुख चौधरीले जानकारी गराउनुभयो।


355 पटक हेरिएको 

