गुराँस गाउँपालिकाका ३१ घरपरिवारलाई फिल्टर वितरण

  भक्त बहादुर शाही  300 पटक हेरिएको
🔗
27
Shares


दैलेख : दैलेखको गुराँस गाउँपालिकाका ३१ घरपरिवारलाई फिल्टर वितरण गरिएको छ । गुराँस गाउँपालिका–८ मा सञ्चालित आइते काफल खनारा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्रथम साधारण सभा तथा खानेपानी तथा सरसफाइ योजनाको सार्वजनिक लेखा परिक्षण कार्यक्रममा गुराँस गाउँपालिका र हेल्भेटास नेपालको आर्थिक सहयोग तथा सोसेक नेपालको प्राविधिक सहयोगमा फिल्टर वितरण गरिएको हो ।

१६ लिटर क्षमताको ३१ वटा घरपरिवार र एउटा सामुदायिक विद्यालयलाई फिल्टर वितरण गरिएको छ भने ३३ वटा धारा निर्माण गरिएको आयोजनाले जनाएको छ । फिल्टरको प्रयोग गर्न थालेपछि सुरक्षित खानेपानीमा पहुँच पुग्नेछन् ।

आयोजनाबाट ३१ घरपरिवारका १७२ जना स्थानीयबासी र ३६ जना विद्यार्थीहरू गरी जम्मा २ सय ८ जना प्रत्यक्ष लाभान्वित भएका छन् ।

‘दिनहुँ जसो पिउने पानीका लागि १ घण्टा पैदल हिडेर पिउने पानीका लागि सास्ती खेप्दै आएका पदमबहादुर वलीले घर आँगनमै पिउने पानी पाउँदा खुशी भएको बताउनु भयो । पहिला हामीलाई पिउने पानीका लागि १ घण्टा पैदल यात्रा गरि पिठ्यूँमा वोक्नु पर्ने वाध्यता थियो,आज भोलि सोसेक नेपालले घर आँगनमै धारा वनाईदिए दुःखका दिए गए’, खुशी हुँदै उहाँले भन्नुभयो ।

साधारण सभा कार्यक्रममा बोल्दै कार्यवाहक वडा अध्यक्ष थाम बहादुर खत्रीले योजना बनाउँदा जसरी सक्रिय रूपमा काम गर्नुभयो त्यसरी नै आगामी दिनमा संरक्षण र संवर्धन गर्न पनि आग्रह गर्नुभयो । उहाँले वडा तथा पालिका वाट पनि सहयोग भइरहने आश्वासन दिनुभयो ।

त्यसैगरी स्थानीय भविसरा वलीले सरसफाइका सूचकहरूबारे सिक्ने अवसर पाएकोमा खुशी हुदै भन्नुभयो, ‘फिल्टर पाएका छौ, गाउँमा धारा पुगेपछि वर्षा याममा शुद्ध पानी पिउन पाउने भयौ । पानीबाट फैलिने सरुवा रोगमा कमी आउने आशा लिएको छौं । घरघरमा पानीका धारा उपलब्ध भएपछि हामी खुसी छौ।’

महिला स्वयंसेविका भावना वलीले गाउँपालिका र सोसेक नेपाललाई धन्यवाद दिदै अब सबैले सुरक्षित पिउने पानी र सरसफाइमा ध्यान दिएर पानीजन्य रोगबाट बच्न सकिने बताउनुभयो ।

उपभोक्ता समितिका अध्यक्ष हरि बहादुर वलीले सोसेक नेपाल तथा एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटास नेपाल र पालिकाको संयुक्त आयोजनामा गाउँमा खानेपानी सुविधा पुगेकोमा सहयोगी निकायप्रति आभार व्यक्त गर्नुभयो। उहाँले योजनाको नियमित सञ्चालन र मर्मत–सम्भारमा समिति र समुदायको महत्वपूर्ण भूमिका रहने भएकाले सक्रिय रूपमा सहयोग गर्न उपभोक्ताहरु सवैमा आग्रह गर्नुभयो ।

उक्त खानेपानी योजना कुल १९ लाख ३७ हजार ७ सय ९१ रुपैयाँ लागतमा सम्पन्न भएको थियो । योजनामा गाउँपालिका बाट ४ लाख ७६ हजार ८ सय ९७ रुपैयाँ, हेल्भेटास नेपाल बाट ९ लाख ८७ हजार ८ सय १७ रुपैयाँ लगानी रहेको छ । खानेपानी योजना सम्पन्न गर्न स्थानीयले ४ लाख ७३ हजार ७७ रुपैयाँ बराबरको जनश्रमदान गरेका छन् भने प्राविधिक सहयोग सोसेक नेपाल दैलेख वाट रहेको सोसेक नेपालका सामाजिक सहजकर्ता पुष्पा कुमारी रिजालले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार