सभापोखरीका चार सय घरमा एक घर, एक धाराको पहुँच

  वास खबर सम्बाददाता  235 पटक हेरिएको
🔗
9
Shares

संखुवासभा : संखुवासभाको सभापोखरी गाउँपालिका-१ र २ वडाका ४०० घरधुरीमा ‘एक घर, एक धारा’ को पहुँच पुगेको छ। सभापोखरी गाउँपालिकाले दातृ निकायका सहयोगमा सञ्चालित परियोजना अन्तर्गत हालसम्म ७२८ घरधुरीमध्ये ४०० घरमा धारा जडान भइसकेको हो।

पहिले कुवा वा अन्य प्राकृतिक मुहानबाट पानी भर्ने बाध्यता रहेकोमा अहिले भने घरमै धारा जडान भएपछि स्थानीयवासीलाई सहज भएको छ। दैनिक दुई घण्टा पानीको जोहोमा समय बिताउने धुपुकी मञ्जु शर्मा अहिले घरमै पानी प्रयोग गर्न पाउँदा खुसी छन्।

त्यस्तै धुपुकै अर्का स्थानीय केदार अधिकारीले पहिले एक गाग्री पानी ल्याउन तीन घण्टा लाग्ने गरेको सम्झदै भन्छन्, ‘अहिले बिहान-बेलुकी घरमै पानी पाइन्छ, यस परियोजनाले गाउँको जीवनशैलीमै परिवर्तन ल्याएको छ।’ धुपुका तीन मुहानमा ट्यांकी निर्माण गरी पाइपमार्फत पानी आपूर्ति गरिएको छ। प्रयोगकर्ताले मासिक ५० रुपैयाँ तिर्ने व्यवस्था गरिएको छ। यसबाट सञ्चालन र मर्मत खर्च व्यवस्थापन हुने जनाइएको छ।

परियोजना अन्तर्गत ६ विद्यालयमा पनि ट्यांकीसहित धारा जडान गरिएको छ। यसले विद्यार्थीलाई सरसफाइको अभ्यासमा पनि टेवा पुगेको छ।

स्थानीयवासी सुनिता राईका अनुसार परियोजनापछि महिलाको श्रमभार घट्नुका साथै बालबालिकाको विद्यालय उपस्थिति पनि नियमित भएको छ। पहिले पानीको कारण विद्यालय छुटाउने विद्यार्थी अहिले समयमा पुग्ने गरेको उनले बताइन्।

परियोजना दिगो बनाउने उद्देश्यले स्थानीय युवालाई पम्प जडान र पाइप मर्मत लगायत प्राविधिक तालिम दिइएको छ। यो परियोजनाको अनुमानित लागत तीन करोड ८२ लाख ३५ हजार रुपैयाँ रहेको छ। अन्य वडामा पनि परियोजना विस्तार गर्ने तयारी भइरहेको जनाइएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार