
काठमाडौं : खानेपानी मन्त्री प्रदीप यादवले खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य सँग आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक कार्यसम्पादन सम्झौता गर्नु भएको छ।
सम्झौता अनुसार मन्त्रालय अन्तर्गतका कार्यक्रमहरूलाई समय, लागत र गुणस्तरअनुसार कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ। यो सम्झौता सरकारको नीति तथा कार्यक्रम, बजेट वक्तव्य र दिगो विकास लक्ष्य अनुसार अघि बढाइएको हो।
मन्त्री यादवका अनुसार तीनै तहका सरकारहरूको क्षमता अभिवृद्धि गर्दै शहरी तथा ग्रामीण क्षेत्रमा सुरक्षित खानेपानी तथा सरसफाइ सेवा विस्तार गर्न, फोहोर पानीको संकलन, प्रशोधन तथा व्यवस्थापनमा विशेष ध्यान दिइनेछ। “हाम्रो लक्ष्य वि.सं. २१०० सम्म सबै नेपालीलाई सुरक्षित पानी र सरसफाइ सेवा उपलब्ध गराउनु हो” मन्त्री यादवले भन्नुभयो।
सम्झौतापछि मन्त्री यादवले सम्झौतामा उल्लेखित कार्यहरू इमानदारीपूर्वक कार्यान्वयन गर्न सम्बन्धित पदाधिकारीहरूलाई निर्देशन दिनुभएको छ।
नेपाल सरकारको नीति तथा कार्यक्रम, बजेट वक्तव्यमा उल्लेख गरिएका खानेपानी मन्त्रालय अन्तर्गतका कार्यक्रमहरू निर्धारित समय, लागत र गुणस्तरअनुसार कार्यान्वयन गर्ने आज गरिएको सम्झौताको मुल उदेश्य रहेको मन्त्री यादवले बताउनुभयो ।
मन्त्री यादवले अघिल्लो आर्थिक वर्षमा भएका कमजोरी नदोहोर्याउन सचेत गराउनु हुँदै चालू आर्थिक वर्षमा मन्त्रालयका काम प्रभाकावारी बनाउने गरी लाग्न सचिव, सहसचिव सहित सबै विभागीय प्रमुखहरुलाई निर्देशन दिनुभयो ।
सचिव ई बज्रचार्यले चालू आर्थिक वर्षमा कार्य लक्ष्य हासिल गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री यादवले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन सम्झौता गर्नुभएको थियो ।


397 पटक हेरिएको 

