
बर्दिया : बर्दिया जिल्लाका पाँच स्थानीय तह, बारबर्दिया, गुलरिया, मधुवन, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकाका वाश (WASH) फोकल पर्सन तथा सूचना प्रविधि (IT) अधिकृतहरूको लागि दुई दिने एनवाश (NWASH) प्रणाली सम्बन्धी तालिम सम्पन्न भएको छ। खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी तथ्याङ्क व्यवस्थापनका लागि वास गेन्स परियोजनाले तालिमको आयोजना गरिएको हो ।
ठाकुरद्वारा, बर्दियामा भएको तालिम ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलक लम्सालको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा बारबर्दिया नगरप्रमुख छबिलाल थारु, गेरुवा गाउँपालिका अध्यक्ष जमान सि. के.सी., मधुवन नगरपालिकाकी उप–प्रमुख अनिता चौधरी, साथै पाँचै पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता थियो।
यसै अवसरमा बर्दियाका पाँच पालिका र खानेपानी तथा ढल व्यवस्थापन कार्यालय नेपालगञ्जबीच खानेपानीको गुणस्तर परीक्षणलाई सहज बनाउन र त्यसको तथ्यांक एनवाश (NWASH) प्रणालीमा नियमित अद्यावधिक गर्ने सम्बन्धी समझदारीपत्र (MoU) मा हस्ताक्षर गरी आदानप्रदान गरिएको छ। यस सहमतिले स्थानीय तहभित्र खानेपानीको वास्तविक अवस्था बुझ्न र विश्वसनीय तथ्यांकलाई प्रणालीगत रुपमा अभिलेखीकरण गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

एनवाश प्रणालीमा अद्यावधिक गर्न सकिने
वाटरएड नेपालका प्राविधिक अधिकृत रबिन्द्र गोदारका अनुसार, दुई दिनको तालिमपछि सहभागीहरू एनवाश (NWASH) प्रणाली प्रयोग गर्न आवश्यक प्राविधिक दक्षताले सम्पन्न भएका छन्। उहाँले भन्नुभयो, “यस MoU मार्फत अब खानेपानी गुणस्तर परीक्षण सहज हुनेछ। पालिकाभित्रको वास्तविक अवस्था बुझ्न सजिलो हुने र WASH तथ्यांकलाई छिट्टै एनवाश प्रणालीमा अद्यावधिक गर्न सकिनेछ भन्नेमा सहभागीहरूले प्रतिबद्धता जनाएका छन्।”
तालिममा निरव वैद्यले NWASH प्रणाली सम्बन्धी प्राविधिक प्रस्तुति दिनुभयो भने खानेपानी गुणस्तर परीक्षणबारे नेपालगञ्जस्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख इन्जिनियर देवेन्द्र झाले व्यावहारिक प्रशिक्षण दिनुभयो।
वाश गेन्स (WASH GAINS) परियोजना अन्तर्गत बर्दियाका पाँच पालिकामा ३३ वटा विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको छ। यस परियोजना वाटरएड र यूकेएडको आर्थिक सहयोगमा, राष्ट्रिय अपाङ्ग महासंघ (NFDN) र नेपाल प्रजनन स्याहार केन्द्र (NFCC) को प्राविधिक सहकार्यमा, बेस संस्था (BASE Organization) मार्फत कार्यान्वयन भइरहेको छ।
यो तालिम र MoU हस्ताक्षरले बर्दियामा खानेपानीको गुणस्तर सुनिश्चित गर्न तथा WASH प्रणालीलाई अझ मजबुत बनाउन महत्वपूर्ण योगदान गर्ने सरोकारवालाहरूको विश्वास छ।



380 पटक हेरिएको 

