
काभ्रे : काभ्रेको नमोबुद्ध नगरपालिका–११ माख्लो डाँडाकटेरीलाई ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा गरिएको छ । नेपाल सरकार, खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभागद्धारा जारी सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा निर्देशिकाको न्यूनतम सूचक पूरा गरेपछि औपचारिक रुपमा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो ।
यस आयोजनामा स्वचालित क्लोरिनेशन प्रणाली जडान गरिएको छ । यससँगै माख्लो डाँडाकटेरी काभ्रेपलाञ्चोक जिल्लामा तेस्रो र नमोबुद्ध नगरपालिकामा पहिलो सुरक्षित खानेपानीयुक्त समुदाय बनेको हो ।

योजनाको जिम्मेवारी स्थानीयकै काँधमा : नगर प्रमुख लामा
नगर प्रमुख लामाले खानेपानी योजनाको गुणस्तरीयता कायम राख्ने जिम्मेवारी अब स्थानीयकै काँधमा आएको बताउनुभयो। उहाँ भन्नुहुन्छ “सफाइमा ध्यान दिनु जरुरी छ । समस्या परेमा वडा वा नगरपालिकामा सम्पर्क गर्न सकिन्छ । युनिसेफ र सिविक फोरमले दुःखमा गरेको लगानीलाई नगरवासीले कहिल्यै बिर्सनु हुँदैन।”
उहाँले गत असोजको बाढीपहिरोले अवरोध पुर्याएको ‘एक घर, एक धारा अभियान’लाई पुनःनिर्माण गर्दै अघि बढाइरहेको पनि जानकारी गराउनुभयो।कार्यक्रमका विशेष अतिथि एवं युनिसेफका उपकार्यकारी निर्देशक टेड चाइवानले समुदायलाई सुरक्षित खानेपानी योजना सम्पन्न गरेकोमा बधाई दिनुभयो। उहाँले संगठित र बलियो समुदायले काम गर्दा थप सहयोगी हातहरू जोडिने भन्दै आयोजना दिगो बनाउन मर्मत सम्भार कोषलाई व्यवस्थित गर्न जरुरी रहेकोमा जोड दिनुभयो।
घोषणा कार्यक्रममा खानेपानी तथा सरसफाइ डिभिजन नं. ३ का डिभिजन प्रमुख सृष्टि ख्वालापालाले स्वच्छ खानेपानी उपलब्धताले पानीजन्य रोग नियन्त्रणमा टेवा पुग्ने बताउनुभयो।
गत असोजको बाढीपहिरोले काभ्रेका ३०० भन्दा बढी खानेपानी आयोजनामा क्षति पुर्याएको र १११ वटा मात्र सञ्चालनमा आइसकेको ाडाटा प्रस्तुत गर्दै उहाँले युनिसेफसँग थप सहयोगको आग्रह गर्नुभयो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिएर स्थानीय सरकारले काम गरिरहेको बताउनुभयो ।
वडा अध्यक्ष कृष्ण तामाङले अवरोधका बेला गरिएको सहकार्यप्रति आभार प्रकट गर्दै भविष्यमा अझै बलियो साझेदारीको अपेक्षा रहेको बताउनुभयो।
सिविक फोरमका प्रमुख कार्यकारी अधिकृत वसन्त कुँवरले नमोबुद्ध–११ डाँडाकटेरीसँगै पनौती–११ बल्थली र वडा नं.२ बोलखेमा पनि सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्ने गरी काम भइरहेको जानकारी गराउनुभयो।
स्थानीयले बाँडे खुसी
घरघरमै धारा बनेपछि पानी ल्याउन घण्टौं खर्चिनुपर्ने बाध्यता हटेको स्थानीयले बताएका छन् । स्थानीय भक्तबहादुर तामाङले पहिले ४ जर्किनमा पानी बाँडेर खानुपर्ने कठिनाइ अहिले अन्त्य भएको बताउनुभयो। कार्यक्रममा सानुकान्छा तामाङले तालिम मार्फत पिउने पानी सुरक्षित गर्ने तरिका र आयोजना मर्मत सम्भार सिकेको बताउनुभयो।

आयोजनाको लागत
√ ‘एक घर, एक धारा’ अभियानअन्तर्गत ३५ घरधुरीका १९८ जना लाभान्वित भएका छन् ।
√ युनिसेफ र सिविक फोरमको १० लाख २२ हजार २ सय २ रुपैयाँ आर्थिक सहयोग
√ स्थानीय जनश्रमदान १ लाख ९८ हजार ४ सय ७० रुपैयाँ
√ कुल लागत १२ लाख २० हजार ६ सय ७२ रुपैयाँ
√ मर्मत सम्भार कोषमा ५० हजार रुपैयाँ संकलन
√ आयोजनाबाट प्रत्यक्ष लाभान्वित : मासमडाँडा, माख्लो भञ्ज्याङ, ककदोङ र गौरेडाँडाका बासिन्दा
घोषणा कार्यक्रममा नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुन्साङ लामा प्रमुख आतिथ्य तथा युनिसेफका उपकार्यकारी निर्देशक टेड चाइवान विशिष्ट अतिथि हुनुहुन्थ्यो ।
सो अवसरमा युनिसेफका दक्षिण एसिया क्षेत्रीय निर्देशक सन्जय विजेसेकरा, युनिसेफ नेपाल उपप्रतिनिधि जी ह्युन राह, वास प्रमुख मुहम्मद इर्फान सइद अलराई, खानेपानी तथा सरसफाई विज्ञ सिद्धि श्रेष्ठ, खानेपानी तथा सरसफाई डिभिजन नं. ३ प्रमुख सृष्टि ख्वालापाला, नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, वडा अध्यक्षहरु, सिविक फोरमका प्रमुख कार्यकारी अधिकृत वसन्त कुँवर तथा स्थानीयवासीहरूको उपस्थिति थियो ।



328 पटक हेरिएको 

