वीरगन्ज महानगरले आफ्नै प्रयोगशालाबाट सुरु गर्‍यो खानेपानीको परीक्षण

  वास खबर सम्बाददाता  235 पटक हेरिएको
🔗
8
Shares

वीरगन्ज : वीरगन्ज महानगरपालिकाले पछिल्ला दिनमा तीव्र रुपमा देखा परेको झाडापखाला तथा हैजा संक्रमणको जोखिमलाई मध्यनजर गर्दै पानी परीक्षणको काम सुरु गरेको छ। महानगरले संक्रमणको प्रमुख कारण दूषित खानेपानी हुनसक्ने आशंकामा नमुना संकलन र प्रयोगशालामा परीक्षण प्रक्रिया अघि बढाएको हो।

महानगरपालिकाको प्राविधिक टोलीले सोमबार वडा नम्बर १०, ११ र १२ भित्रका विभिन्न पाँच स्थानका धाराबाट पानीको नमुना संकलन गरेर परीक्षण थालेको महानगरका मेयर राजेशमान सिंहले जानकारी दिनुभयो। उहाँका अनुसार माइक्रोबायोलोजिष्ट अजय मण्डल, वातावरण निरीक्षक प्रकाश ऐरसहितको प्राविधिक टोलीले शंकास्पद क्षेत्रमा पुगेर धाराको पानी संकलन गरी प्रयोगशालामा परीक्षण गर्ने कार्यलाई तीव्रता दिएका छन्।

मेयर सिंहका अनुसार महानगरपालिकाले वडा नम्बर १ छपकैया स्थित खानेपानी प्रशोधन केन्द्रमै पानी परीक्षणका लागि अत्यधुनिक प्रयोगशाला स्थापना गरेको छ। उक्त प्रयोगशालामा हाल इकोली परीक्षण सहजै हुने व्यवस्था मिलाइएको मेयर सिंहले बताउनुभयो। युनिसेफले उपलब्ध गराएको विशेष किट प्रयोग गरेर कोलिफर्म परीक्षण समेत सुरु गरिएको छ। माइक्रोबायोलोजिष्ट मण्डलका अनुसार कोलिफर्म परीक्षण पी/ए भायल प्रयोग गरेर गरिन्छ, जसलाई २४–४८ घण्टा सम्म इन्क्युबेट गरिन्छ। किट परीक्षणले १८ घण्टाभित्र ई-कोलाईको नतिजा दिन्छ।

मण्डलले भन्नुभयो, ‘समयमै नतिजा प्राप्त भएपछि कुन क्षेत्रमा दूषित पानी प्रवाह भइरहेको छ भन्ने तत्काल थाहा हुन्छ र त्यसअनुसार आवश्यक कदम चाल्न सजिलो हुन्छ।’ संक्रमण नियन्त्रणलाई पहिलो प्राथमिकता दिँदै मेयर सिंहले सुरक्षित खानेपानी नै हालको मुख्य आवश्यकता रहेको बताउनुभयो। उहाँका अनुसार महानगरपालिकाले आफ्नै स्तरबाट परीक्षण सुरु गर्नुको उद्देश्य बासिन्दालाई शुद्ध र सुरक्षित खानेपानी उपलब्ध गराउनु हो। अन्नपूर्ण पोष्ट बाट साभार।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार