साझा प्रयासले बुढि जमदहमा सुरक्षित खानेपानी

  वास खबर सम्बाददाता  768 पटक हेरिएको
🔗
112
Shares

सिरहा : गोलबजार नगरपालिका–३ को चुरे फेदीमा बसेको बुढि जमदह गाउँ बाहिरबाट हेर्दा शान्त र सम्पन्न देखिन्छ । राई, तामाङ, लामा, पासमान, सदा लगायतका परिवारहरू मिलेर बसोबास गर्ने यो गाउँमा शिक्षा, खेतीपाती र आपसी मेलमिलाप राम्रो भए पनि एउटा पुरानो पीडा गाउँलेहरूको साझा बोझ बनेको थियो, खानेपानीको अभाव ।

वडा अध्यक्ष धन प्रसाद लामाले भन्नुभयो “यो आयोजना बुढि जमदहकै लागि मात्र होइन, सम्पूर्ण वडाका लागि उदाहरण बनेको छ । अब पानीको अभाव विगतको कुरा बन्नेछ।

वर्षौंदेखि गाउँलेहरू पानीको खोजीमा भौतारिन बाध्य थिए । केही घरधुरीले निजी बोरिङ्ग गरे पनि अधिकांश परिवारलाई सामूहिक रूपमा बनाइएको ५ हजार लिटर क्षमताको सानो आयोजना मात्रै भरपर्दो स्रोत थियो। त्यो पनि दिनहुँ पर्याप्त हुन्थेन । बिहान बेलुकी धारामा लाइन लाग्ने, पालो पर्खनु पर्ने, कहिलेकाहीँ झगडा हुने यी दृश्य बुढि जमदहका बासिन्दाले पटक–पटक भोगेका थिए ।

यस बर्ष समयमै वर्षा भएन एबं मधेश प्रदेशमा अन्य प्रदेशको तुलनामा एकदमै कम वर्षा भएको छ जसकारणले  मधेश प्रदेशको धेरै भागमा पानीका स्रोत सुके। बुढि जमदह समेत यसको चपेटामा पर्‍यो । एउटै धाराबाट १५ देखि २५ परिवारले पानी तान्नुपर्ने अवस्था आयो । कतिपयले बाल्टिन बोकेर टाढा–टाढाबाट पानी ल्याउन थाले ।

स्थानीय शोभा पासमान भन्नुहुन्छ “यस वर्ष जस्तो दुःख हामीले पहिले कहिल्यै भोगेका थिइनौं। बिहानै उठेर पालो पर्खनु पर्ने, कहिलेकाहीँ पालो नै नपाउने अवस्था थियो। जीवन साँच्चै कष्टकर बनेको थियो।”

समाधानको बाटो

सबल नेपालले वेल्थहंगरहिल्फेको सहयोगमा संचालनमा रहेको Up Scaling WASH System Strengthening Approach in Terai Region परियोजना मार्फत गाउँमै ४० हजार लिटर क्षमताको खानेपानी आयोजना निर्माण भैरहेको छ । यस आयोजनामा ७१ लाख ९१ हजार ६ सय ५९ रुपैयाँ लगानी भएको छ। जसमा सबल नेपालले ६० लाख, ६१ हजार ३ सय १६ रुपैयाँ,  गोलबजार नगरपालिकाले ५ लाख १७ हजार ८ सय ८ र स्थानीय समुदायले ६ लाख १२ हजार ५ सय ३५ रुपैयाँ बराबरको श्रमदान रहेको छ ।

यसरी संस्थागत सहयोग, स्थानीय सरकार र समुदायको लगानी मिसिँदा आयोजना अघि बढ्यो। अहिले करिब ६० प्रतिशत काम सकिएको छ। पाइप बिछ्याउने र धारा जडानको काम पूरा भइसकेको छ भने बाँकी संरचना निर्माण तीव्र गतिमा भइरहेको छ।

अब गाउँमै धारा

अहिलेको खानेपानीको अभाबलाइ ध्यानमा राखेर पुरानो संरचना प्रयोग गरेर तत्काल पानी आपूर्ति सुरु गरिएको छ । यसैका कारण अहिले करिब ५१ घरधुरीमा प्रत्यक्ष रूपमा सुरक्षित खानेपानी पुगेको छ । शोभा पासमान भन्नुहुछ, “अब आफ्नै आँगनमा धारा छ ।  जब चाह्यो तब पानी पाउँछौं । पहिलेको दुःख सम्झिँदा अहिलेको सहजता सपना जस्तै लाग्छ ।”

खानेपानी उपभोक्ता समितिका अध्यक्ष लाल गोविन्द लामाले पनि अहिलेको अवस्थालाई ऐतिहासिक परिवर्तनको रूपमा लिनु भएको छ। वडा अध्यक्ष धन प्रसाद लामाले भन्नुभयो “यो आयोजना बुढि जमदहकै लागि मात्र होइन, सम्पूर्ण वडाका लागि उदाहरण बनेको छ । अब पानीको अभाव विगतको कुरा हुन्छ ।”

उज्यालो भविष्य

खानेपानी सहज भएपछि गाउँलेहरूको जीवनस्तरमा ठुलो परिवर्तन आउने अपेक्षा गरिएको छ । स्वास्थ्य सुधार हुन्छ, सरसफाइमा वृद्धि हुन्छ, महिलाले पानी बोकेर बिताउने समय बचत हुन्छ र बालबालिकाले पढाइमा ध्यान दिन समय पाउँछन् ।

बुढि जमदहको कथा एउटा उदाहरण हो—समुदाय, स्थानीय सरकार र संस्थाहरू एकसाथ आएर काम गर्दा दीर्घकालीन समस्या समाधान गर्न सकिन्छ भन्ने प्रमाण । अब गाउँमा पानीको पहुँच भएको छ, र पानीसँगै गाउँलेहरूको अनुहारमा मुस्कान पनि फर्किएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार