अस्पतालको फोहोर व्यवस्थापनमा चरम लापरबाही

उपकरण अभावमा जलाएर नष्ट गरिदै

  वास खबर सम्बाददाता  288 पटक हेरिएको

सुर्खेत : कर्णाली प्रदेशका अस्पताल तथा स्वास्थ्य संस्थामा फोहोर व्यवस्थापन निकै कमजोर रहेको पाइएको छ । धेरै जसो फोहोर जलाउने गरिएको छ । वातावरणीय दृष्टिले जलाउनु उपयुक्त नभए पनि उपकरण लगायत स्रोत साधनको अभावमा जलाउने र गाड्ने गरिएको छ ।

सुर्खेत, दैलेख, जाजरकोट र मुगु जिल्लाका विभिन्न अस्पताल तथा स्वास्थ्य चौकीको अध्ययन गर्ने क्रममा त्यहाँबाट उत्पादित फोहोरको व्यवस्थापन पक्ष कमजोर रहेको पाइएको हो ।

फोहोर व्यवस्थापनविज्ञ दीपेन्द्र उप्रेतीले अस्पताल तथा स्वास्थ्य संस्थाबाट उत्पादित फोहोरको व्यवस्थापन निकै संवेदनशील हुने भएकाले त्यसमा कर्णालीका स्वास्थ्य संस्था कमजोर देखिएको बताउनुभयो । उहाँले सुर्खेतस्थित प्रदेश अस्पतालको फोहोर व्यवस्थापन केही सुधारात्मक भए पनि त्यो अपर्याप्त भएको उल्लेख गर्नुभयो ।

पूर्वाधार तथा उपकरण अभावले यसमा सुधार आउन नसकेको र सरकारी तथा विकास साझेदार निकायले यसमा सहयोग गर्नुपर्ने सुझाव उहाँले दिनुभयो ।

युनिसेफ, एन्फो लगायतका संस्थाको सहयोगमा रुकुमेली समाज विकास केन्द्रले गरेको अध्ययनमा स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन चार प्रतिशत मात्र देखिएको पाइएको जनाएको छ । केन्द्रका कार्यक्रम संयोजक बमकुमार खड्काले सुरुमा यी स्वास्थ्य संस्थामा अध्ययन गर्ने क्रममा फोहोर व्यवस्थापन पक्ष कमजोर रहेको पाइएको बताउनुभयो ।

उहाँले आधारभूत खानेपानीको अवस्था ८१ प्रतिशत, सरसफाइको अवस्था २१ प्रतिशत, स्वच्छता ७१ प्रतिशत तथा वातावरणीय सफाइमा ०.२ प्रतिशत मात्रै देखिएको उल्लेख गर्नुभयो ।

यसैलाई ध्यानमा राख्दै अस्पतालबाट उत्पन्न हुने फोहोर व्यवस्थापन, खानेपानी, सरसफाइ तथा स्वच्छता सुधार, सङ्क्रमण नियन्त्रण, प्रयोगशाला तथा पानी र फोहोर पानीको गुणस्तर परीक्षण निगरानी, क्षमता अभिवृद्धिका लागि कर्णाली प्रदेशका चार वटा जिल्लाका नौ वटा स्वास्थ्य संस्था छनोट गरी कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

सुर्खेतको प्रदेश अस्पताल र वीरेन्द्रनगर नगरपालिकाको नगर अस्पताल तथा दौलतपुर आधारभूत स्वास्थ्य केन्द्र, दैलेखको दैलेख जिल्ला अस्पताल र दुल्लुको नगर अस्पताल तथा कालभैरव स्वास्थ्य चौकी, जाजरकोटको जिल्ला अस्पताल र मुगुको जिल्ला अस्पताल तथा छायानाथ रारा नगरपालिकाको ढुङ्गेधारा स्वास्थ्य चौकीलाई यी कार्यक्रमका लागि छनोट गरिएको हो ।

यस कार्यक्रमबाट नवजात शिशु मृत्यु तथा बाल मृत्युदरमा कमी आउने, पानीको गुणस्तरमा वृद्धि हुने, सरसफाइमा सुधार आउने, स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापनमा सुधार आउने लगायतका उपलब्धि हासिल गर्ने लक्ष्य राखिएको खड्काले बताउनुभएको खबर गोरखापत्रले प्रकाशन गरेको छ । यो कार्यक्रम सन् २०२६ सम्म सञ्चालन हुने छ ।

सरसफाइविज्ञ सिद्धि श्रेष्ठले यस कार्यक्रमले कर्णालीका चार जिल्लाका पाँच स्थानीय तहसहित देशभरका ७० पालिकाको स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गरिने जानकारी दिनुभयो । उहाँले यस कार्यक्रमबाट स्वास्थ्य संस्थाको आधारभूत सेवामा सुधार ल्याउने उल्लेख गर्नुभयो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक तेजकुमार दर्लामीले कर्णालीको स्वास्थ्य क्षेत्रमा धेरै पक्षमा काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले जुन पक्षमा कमजोर छ, त्यहीमा लगानी र सहयोग गर्न विकास साझेदार पक्षलाई आग्रह गर्दै स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सँगै अगाडि बढ्न सुझाव दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार