
ओखलढुङ्गा : ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेल । समुद्री सतहदेखि १६ सय मिटर उचाइमा रहेको यो बस्ती विगत धेरै वर्षदेखि पानीको अभावसँग लड्दै आएको थियो । बिहान सबेरै घामसँगै उठेर घण्टौँ टाढासम्म हिँडेर पानी ल्याउनु यहाँका बासिन्दाको दैनिकी थियो ।
काफलडाँडाका बासिन्दा आरुबाट जाने धारातर्फ हिँड्थे भने जैसीटोलका बासिन्दाले पँधेराटारको धारामा पालो कुर्नुपर्थ्यो । विर्ताटोल, दमाइगाउँ, सातसले—सबै ठाउँको पीडा एउटै थियो : पानीको लागि दैनिक संघर्ष। पानी बोक्दा महिला, वृद्धवृद्धा र बालबालिकासम्म कठिनाइ भोग्न बाध्य थिए । सरसफाइ, पशुपालनदेखि दैनिक जीवनका साना–ठूला काम सबै प्रभावित थिए ।
तर, अब टोक्सेलबासीहरूको जीवनमा नयाँ आशा पलाएको छ । गाउँपालिकाले २६ लाख रुपैयाँ लागतमा यहाँ डिपबोरिङ योजना सञ्चालन गरेको छ । लामो प्रयासपछि १८० मिटर गहिराइमै जीवनको स्रोत भेटिएको छ ।
गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली भन्छन्, “अब घर–घरमा पानी पुर्याउने काम सुरु भएको छ । नागरिकका आधारभूत आवश्यकताहरू पूरा गर्नु हाम्रो दायित्व हो ।”
यस योजनाबाट ७५ घर लाभान्वित हुनेछन् । ‘एक घर, एक धारा’ कार्यक्रममार्फत प्रत्यक्ष सुविधा पुग्ने जनाइएको छ । उपाध्यक्ष आश्रचन राईले बोरिङ १८० मिटर गहिराइसम्म गरिएको जानकारी दिए । वडा अध्यक्ष विष्णुप्रसाद गौतमको विश्वास छ, “स्थानीयको वर्षौँदेखिको खानेपानीको समस्या अब अन्त्य हुन्छ ।”
पँधेराटारमा निकालिएको पानीलाई काफलडाँडामा बनेको ठूलो ट्यांकीमा जम्मा गरेर गाउँका सबै टोलतर्फ वितरण गर्ने योजना छ । यो योजनासँगै टोक्सेलबासीको बिहान–साँझको जीवन फेरिनेछ, पानीका लागि घण्टौँ पैदल यात्रा होइन, अब घरआँगनमै आउने धाराबाट सहज जीवनको शुरुवात हुनेछ।


445 पटक हेरिएको 

