
नवलपरासी : नवलपरासीको बर्दघाट ४ मा रहेको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाले लुम्बिनी प्रदेशकै पहिलो शून्य फोहोर अभियान सुरु गरेको छ। खानेपानी र सरसफाइ सबैका लागि, सधैंका लागि भन्ने नारा सहित अभियान सुरु गरेको हो ।
संस्थाका अध्यक्ष दिपक लम्सालले बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था लुम्बिनी प्रदेशमा शून्य फोहोर अभियान सञ्चालन गर्ने पहिलो खानेपानी संस्था भएको जानकारी दिनुभयो। अभियानलाई थप प्रभावकारी बनाउन उपसमिति गठन गरिनुका साथै ८ लाख रुपैयाँको बजेट पनि छुट्याइएको उहाँले बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरपालिकाले उच्च प्राथमिकताका साथ सरसफाइ र फोहोर व्यवस्थापनको अभियानलाई अघि बढाइरहेको बताउनुभयो। उहाँले नगर प्रमुखका १२ वटा अभियान अन्तर्गत शून्य फोहोर अभियानलाई पनि महत्वपूर्ण अंगको रूपमा सञ्चालन गरिएको जानकारी दिनुभयो।
श्रेष्ठले फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइट निर्माणको काम अघि बढिरहेको उल्लेख गर्दै नगर क्षेत्रका सबै खानेपानी तथा सरसफाई संस्थाहरूलाई पनि शून्य फोहोर अभियान सञ्चालन गर्न आग्रह गर्नुभयो।
पूर्व नगर प्रमुख धिरज शर्माले फोहोरको व्यवस्थापनका लागि स्रोतमै न्यूनिकरण, पुनः प्रयोग (Reuse), र पुनःचक्रण (Recycle) लाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो। उहाँले हाल बर्दघाटमा दैनिक करिब १६ मेट्रिक टन फोहोर उत्पादन भइरहेको उल्लेख गर्दै यसको व्यवस्थापनमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।
अभियान सञ्चालन गर्न ११ सदस्यीय टोली गठन

शून्य फोहोर अभियान सञ्चालनका लागि संस्थाका सचिव शोभकान्त कोइरालाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरिएको छ। अभियान सफल बनाउन ‘अभियान राम्रो छ, सबैले सहयोग गरौं’ भन्ने अपिलका साथ कार्यक्रममा सहभागी सम्पूर्ण व्यक्तिहरूले आ–आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अभियान अन्तर्गत ‘सफा शहर, हाम्रो शहर, चुरे क्षेत्र संरक्षण गरौं, बृक्षारोपण गरौं, हामी दिन्छौं शुद्ध खानेपानी, सुधारौं हाम्रो बानी’ जस्ता प्लेकार्डहरू बोकेर जनचेतनामूलक र्याली समेत निकालिएको थियो। संस्थाका उपाध्यक्ष कमल थापाले शून्य फोहोर अभियान संस्थाको कार्यक्षेत्रभित्र रहेका २२ वटै टोलमा सञ्चालन गरिने जानकारी दिनुभयो।
बर्दघाट–४ का वडा अध्यक्ष बेदबिना तिवारी, संस्थाका सल्लाहकार रबिन्द्र बिक्रम हमाल, नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्याय, विभिन्न जनप्रतिनिधि तथा समाजिक संस्था प्रतिनिधिहरूको समेत उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।


448 पटक हेरिएको 

