
लुम्बिनी : लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले शनिबार लुम्बिनी सरसफाइ अभियानको सुरुवात गर्नु भएको छ। लुम्बिनी विकास कोषले प्रत्येक शनिबार सरसफाइ अभियान संचालन गर्ने योजना सहित उहाँले शान्ति दीप अगाडि झाडु लगाएर नियमित सरसफाइ अभियानको शुभारम्भ गर्नु भएको हो । उहाँले यो अभियानमा सबै कर्मचारी र सरोकारवाला निकायलाई सक्रिय सहभागिताका लागि आह्वान समेत गर्नु भएको छ ।
गत महिनादेखि लुम्बिनीमा कर्मचारी युनियनले विभिन्न माग राख्दै आन्दोलन गरेकोमा काठमाडौंस्थित पर्यटन मन्त्रालयमा भएको वार्ताबाट सकारात्मक नतिजा सहित सम्पन्न भएपछि उपाध्यक्ष लामा आफैँ कार्यालयको नियमित कामको स्थलगत काममा फर्किनु भएको हो ।
लामो समयसम्म कार्यालयको कामकाजमा देखिएको गतिरोध अन्त्य गर्दै उपाध्यक्ष लामाले लुम्बिनी विकास कोषभित्र सुशासन र स्वस्थ प्रशासन कायम गर्ने अभियान सुरु गर्ने बताउनुभयो। उहाँले कोषको विकास र गुरुयोजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो।
उपाध्यक्ष लामाले लुम्बिनी गुरुयोजना अन्तर्गत निर्माणाधीन क्षेत्रको अवलोकन समेत गर्नु भएको छ। लामो समयदेखि विभिन्न समस्याबाट गुज्रिएको लुम्बिनी विकास कोषको अवस्था सुधारका लागि उपाध्यक्ष लामाले स्थलगत निरीक्षण गरेर सुधारको कार्ययोजना निर्माण गर्नुभएको हो ।
लुम्बिनीको संरक्षण र विकासका लागि उपाध्यक्ष लामाको यो पहलले सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।


227 पटक हेरिएको 

