जथाभाबी फोहोर फाल्नेलाई दुई हजार रुपैयाँसम्म जरिवाना तिराउने

  वास खबर सम्बाददाता  292 पटक हेरिएको

ताप्लेजुङ : ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले जथाभाबी फोहोर फालेमा जरिवाना तिराउने नियम बनाएको छ । नगरपालिकाले सार्वजनिकस्थलमा जथाभाबी फोहोर फाल्नेलाई दुई हजार रुपैयाँसम्म जरिवाना तिराउने गरी नियम बनाएको हो ।

चालु आर्थिक वर्ष २०८२/८३ का लागि बनाइएको नियमअनुसार हेलचेक्र्याइँ गरी सार्वजनिक अर्थात जताभाबी फोहोरजन्य वस्तु फालेमा ५०० देखि दुई हजार रुपैयाँसम्म जरिवाना तिराउने नियम बनाएको छ । सार्वजनिक स्थलमा फोहोर फ्याक्नेलाई पहिलो पटक ५०० रुपियाँ जरिवाना तिराउने नगरपालिकाले नियम बनाएको छ ।

यस्तै, दोहोर्‍याएर अर्थात दोस्रो पटक सार्वजनिक स्थलमा फोहोर फालेमा एक हजार रुपियाँ र तेस्रो पटक फोहोर फालेमा दुई हजार रुपैयाँ जरिवाना तिराउनेगरी नगरपालिकाले नियम ल्याएको छ । पटक–पटक सार्वजनिक स्थलमा फोहोर फालेर अटेर गरेमा कानुन अनुसार कारबाही गर्न सम्बन्धित निकायका लागि सिफारिस गर्ने गरी नगरपालिकाले नियम बनाएको छ ।

त्यस्तै, नगरपालिकाले गुणस्तरहीन मासुजन्य पदार्थ बिक्री वितरण गरेमा जफत तथा नष्ट गरी जरिवाना गर्ने नियम बनाएको छ । मासुजन्य वस्तु बिक्री वितरण गर्नेले गुणस्तरहीन वस्तु बिक्री गरेको पाइएमा पहिलो पटक दुई हजार, दोस्रो पटक चार हजार र तेस्रो पटक पनि गुणस्तरहीन मासु बिक्री गरेको पाइएमा आठ हजार रुपियाँसम्म जरिवाना तिराउने नगरपालिकाको नियम छ ।

मासुजन्य वस्तु बिक्री वितरण गर्नेले खुला ठाउँमा बध गर्ने तथा बेचबिखनको काम गरेमा पनि नगरपालिकाको जरिवाना गर्ने भएको छ । खुला ठाउँमा बध गर्ने र मासुजन्य वस्तु बिक्री वितरण गर्नेलाई पहिलो पटकका लागि ५०० रुपैयाँ, दोस्रो पटक एक हजार र तेस्रो पटकका लागि दुई हजार रुपियाँ जरिवाना तिराउने गरी नगरपालिकाले नियम बनाएको छ ।  नियमित अनुगमनका लागि नगरपालिकाले नगर प्रहरी परिचालित गर्न सक्ने नियम बनाएको छ ।

यसैगरी नगरपालिकाको बजार अनुगमनका क्रममा उपभोक्तालाई हानी नोक्सानी हुने तथा गम्भीर कानुन प्रतिकुलसम्मका कैफियत गरेको पाइएमा व्यवसाय बन्दसम्मको सिफारिस गर्न सक्नेगरी नगरपालिकाले कडाइ गर्ने भएको छ । बजार अनुगमन कार्यविधि नै बनाई सोहीअनुसार परिचालन गर्ने र व्यावसायिक कैफियत देखिएमा पहिलो पटक कैफियत देखिएका सामानको बिक्री मूल्यको दोब्बर तथा दोस्रो पटक तेब्बर बढी रकम बराबरको जरिवाना तिराउने नगरपालिकाले नियम बनाएको खबर गोरखापत्रले प्रकाशन गरेको छ। ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार