
काठमाडौ : नेपालको राजनीतिक इतिहासमा जेन्जी पुस्ताले गरेको आन्दोलनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार सत्ताच्युत भयो। जुन आन्दोलनको लहरले पूर्वप्रधानन्यायधीस सुशीला कार्कीलाई सत्तारोहण गरायो।
जेन्जीको विद्रोही ज्वालाले सिंहदरबारका भव्य भवनहरू पनि अछुतो रहेन। धेरै मन्त्रालयहरू जलेर खरानी बने।
तर, त्यो विनाशकारी रातमा केही भवनहरु भने मुश्किलले बचाउन सफल भयो । सिङ्गै सिंहदरबार जल्दा पनि बचेका मन्त्रालयका भवनहरुमा पर्छन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सँगै खानेपानी मन्त्रालय ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र खानेपानी मन्त्रालय एउटै भवनमा छ । उक्त भवनको तेस्रो र चौथो तलामा छ ‘खानेपानी मन्त्रालय’ । जुन भवनलाई जोगाउने साहस देखाउने न त मन्त्री थिए, न ठूला अधिकारी नै । उहाँ हुनुहुन्थ्यो भौतिक पूर्वाधार मन्त्रालयमा कार्यरत हल्का सवारी चालक कृष्ण कुमार रंजितकार र साथमा एक जना पाले।

बिहान साढे तीन तिरै सीता पाइलामा रहेका रंजितकारको मोबाइलको घण्टी बज्यो । फोन थियो भौतिक पूर्वाधार मन्त्रालयकै पालेको । संसद सचिवालय तिरबाट सवारी साधन जल्दै जल्दै आएको आगोले खानेपानी मन्त्रालयका सबै सवारी साधन पनि जलेको र मन्त्रालयको पश्चिमी भागतिर पनि आगो लाग्न थालेको खबर पालेले सुनाए ।
रंजितकार भन्नुहुन्छ ‘आफ्नो स्कुटर मन्त्रालयमै राखेको थिएँ, सालीको स्कुटी मागेर अँध्यारोमै दौडाए, तर सेनाले बाटोमा रोक्दै, गेटबाट पनि छिर्न दिएन। बल्ल परिचय पत्र देखाए पछि गेटबाट छिरेर अगाडि बढें।’
विस्तृतमा हेर्नुहोस् यो भिडियो :
आगो निभाउन मन्त्रालय आईपुग्दा झ्यालबाट आगो भित्र पसिसकेको थियो । उनीहरुसँग हातमा न त दमकल थियो, न विशेष उपकरण। तर हृदयमा थियो ‘कर्तव्य र जिम्मेवारी।’
धुवाँ र लप्का बढ्दै थिए। सास फेर्न कठिन भएको थियो । तर उनीहरू पछि हटेनन्। बाल्टिनमा पानी बोके, जे जस्तो पाए त्यसैलाई प्रयोग गरे। अघिल्लो दिन मन्त्रालय देखि सीता पाइला सम्मको हिडाईले थाकेको शरीर ढल्ने अवस्था भैसेको थियो। तर मनभित्रको आवाजले भन्थ्यो “यो मन्त्रालय जोगाउनै पर्छ।’
घण्टौँको संघर्षपछि, पसिनासँगै बल्ल आगो नियन्त्रणमा आयो र ढुक्कको सास फेर्न सफल भयो ।

रंजितकार र मन्त्रालयका पालेले यो कुनै समाचार बनाउने नियतले गरिएको काम थिएन। कुनै पुरस्कार वा तालीको अपेक्षा पनि थिएन। तर उनीहरूको त्यो प्रयासले मन्त्रालयलाई खरानी हुनबाट बचाएको छ ।
देशमा परिवर्तन ल्याउने आन्दोलनको भुइँचालो बीच यी दुई कर्मचारीले देखाएको साहसले देश बचाउने नायक केवल उच्च पदाधिकारी मात्र होइनन्, सामान्य लाग्ने हातहरूले पनि इतिहास जोगाउन सक्छन् भन्ने प्रमाणित गरेको छ ।



406 पटक हेरिएको 

