
काठमाडौ : जेन्जी पुस्ताले गरेको आन्दोलनका क्रममा सिंहदरबार लगायत देशका विभिन्न कार्यालयमा आगजनी हुँदा खानेपानी मन्त्रालय र मातहतका गरी ३७ वटा सवारी साधन जलेर पूर्ण रुपमा नष्ट भएका छन् । जलेका मध्ये १४ वटा चार पाङ्ग्रे छन् भने २३ वटा दुई पाङ्ग्रे सवारी साधन छन् ।
खानेपानी मन्त्रालयका प्रवक्ता सहसचिव मीना श्रेष्ठका अनुसार सिंहदरबार परिसरमा ५ वटा र मन्त्री क्वाटरमा ४ वटा चार पाङ्ग्रे सवारी साधन जलेका छन् । यस्तै खानेपानी तथा ढल व्यवस्थापन कार्यालय पोखराको तीन वटा जीप र एउटा एम्बुलेन्स तथा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय चितवनको एउटा जीप जलेर नष्ट भएको छ ।

यस्तै सिंहदरबार परिसरमा ८ वटा मोटरसाइकल र ४ वटा स्कुटर जलेर खरानी भएका छन् । मन्त्री क्वाटरको पनि एउटा स्कुटर जलेको छ भने खानेपानी तथा ढल व्यवस्थापन कार्यालय पोखराको ९ वटा मोटरसाइकल र एउटा स्कुटर जलेको सहसचिव श्रेष्ठले जानकारी दिनुभयो।
८ वटा तोडफोड

मन्त्रालयको ४ वटा चार पाङ्ग्रे सवारी साधन तोडफोड गरिएको छ । यस्तै चार वटा बाइकमा पनि क्षति पुगेको छ । ८ वटा सवारी साधनमा आंशिक क्षति पुगेको र ती मर्मत गरी प्रयोग ल्याउन सकिने खालको रहेको जनाएको छ ।
संसद सचिवालय तिरबाट सवारी साधन जल्दै जल्दै आएको आगोले खानेपानी मन्त्रालयका सबै सवारी साधन जलेको र मन्त्रालयको पश्चिमी भाग तर्फको झ्याल र टेबलमा केही क्षति पुगेको छ । एउटै भवनमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र खानेपानी मन्त्रालयको पश्चिम तर्फको झ्यालबाट आगो प्रवेश गरेर टेबल समेत जल्न थालेपछि भौतिक पूर्वाधार मन्त्रालयमा कार्यरत हल्का सवारी चालक कृष्ण कुमार रंजितकार र मन्त्रालयकै पालेले आगो निभाएका थिए ।





350 पटक हेरिएको 

