
काठमाडौं : हिलटेक समूहले प्रहरी चौकी र बिटहरुका लागि १ सय ८ थान पानी ट्याङ्की उपलब्ध गराउने भएको छ । भदौं २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा क्षति पुगेका प्रहरी चौकी र बिटहरुका लागि हिलटेकले एक हजार लिटरका १ सय ८ थान पानी ट्याङ्की र ५ सय थान ट्राफिक कोन उपलब्ध गराउने भएको हो।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत हिलटेक समूहले ती सामाग्रीहरु सहयोग स्वरुप उपलब्ध गराउने समूहका अध्यक्ष कमल जैनले जानकारी गराउनु भयो।
नेपालमा तीन दशकदेखि पानी ट्याङ्की तथा पाइपहरु उत्पादन गर्दै आएको समुह हिलटेकले बिहिबार नेपाल सरकारका मुख्यसचिव एक नारायण अर्याल र नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ्गलाई भेटेर समूहका अध्यक्ष कमल जैनले उक्त सहयोग सामाग्री प्रदान गर्ने प्रतिबद्धता जनाउनु भएको हो।
आन्दोलनका क्रममा नेपालका धेरै भौतिक संरचनामा क्षति भएकाले निजी र सरकारी क्षेत्रको समन्वयमा ती संरचनाको पुनर्निर्माण गर्नु पर्ने बाध्यता रहेको मुख्य सचिव एकनारायण अर्यालको भनाइ छ । उहाँले निजी क्षेत्रलाई पुननिर्माणमा सहयोग गर्न अपिल समेत गर्नुभयो।
जेनजी पुस्ताको प्रदर्शनका क्रममा नेपालभर कति रकम बराबरको भौतिक संरचना ध्वस्त भए भन्ने अझै आधिकारिक तथ्यांक तयार भैसकेको छैन । आन्दोलनका क्रमा सिंहदरबार भित्रका मन्त्रालय, मन्त्री आवास, विभिन्न नेताका आवास र सरकारी कार्यालयदेखि ब्यवसायिक मल र उद्योगहरुमा समेत तोडफोड र आगजनी भएको छ ।


264 पटक हेरिएको 

