मेलम्चीको पानी असोजको अन्तिम साता मात्र उपत्यकामा पठाईने

  वास खबर सम्बाददाता  336 पटक हेरिएको
🔗
32
Shares


काठमाडौ : मेलम्चीको पानी यस वर्ष असोज अन्तिम सातातिर मात्रै काठमाडौं उपत्यकामा पठाईने भएको छ । वर्षाका कारण मेलम्चीमा पानीको बहाव बढेकाले दशैं अगाडि मेलम्चीको पानी काठमाडौं ल्याउन नसकिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी गराउनुभयो।

‘पानीको बहाब घटेको छैन । बहाब घटेपछि पानी ल्याउने तयारी छ’ कार्यकारी निर्देशक दासले भन्नुभयो। विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढी पहिरोले आयोजनाको हेडवर्क्स पूर्ण रूपले क्षतिग्रस्त भएपछि त्यसयता हिउँदमा मात्र मेलम्चीको पानी उपत्यकामा वितरण हुँदै आएको कार्यकारी निर्देशक दासले बताउनुभयो । केही दिनयता दैनिक ठूलो पानी पर्न थालेकाले मेलम्चीको पानी काठमाडौं उपत्यकामा पठाउन समस्या भएको उहाँको भनाइ छ ।

मेलम्चीबाट करिब १७ देखि १८ करोड लिटर पानी दैनिक काठमाडौंमा पथान्तरण गरिँदै आए पनि बाढीका कारण मेलम्चीको मुहान बन्द गरिएपछि अहिले रिबर्मा खोलाबाट दैनिक रुपमा ६ देखि ७ करोड लिटर पानी पथान्तरण गरेर काठमाडौंमा वितरण भइरहेको कार्यकारी निर्देशक दासले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘मेलम्चीको पानी असारमै बन्द भएको थियो । अहिले हामीले रिबर्मा खोलाको पानी वितरण गरिरहेका छौँ ।’

विसं २०७८ चैत १५ गते दैनिक १७ करोड लिटर काठमाडौं उपत्यकामा पानी वितरण थालिएको हो । तर, २०७८ असार र साउनमा मेलम्ची तथा इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुर्‍याएपछि हालसम्म बाह्रैमास पानी ल्याउन सकिएको छैन ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोककुमार पौडेलका अनुसार उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग रहेको  छ। मेलम्ची खानेपानी बन्द गरिएको बेला विभिन्न स्रोतबाट दैनिक १३ देखि १४ करोड लिटर पानी मात्रै काठमाडौ उपत्यकामा आपूर्ति हुने गरेको उहाँले जानकारी दिनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार