
पर्वत : पर्वतको मोदी गाउँपालिकाको मुख्य व्यापारिक बजार पातीचौर र डिमुवाबाट निस्कने फोहोर व्यवस्थापनमा गाउँपालिकाले चासो नदेखाउँदा वातावरण प्रदूषित बन्न पुगेको छ । मोदी खोलाको किनारमा जथाभावी फोहोर विसर्जन हुँदै आएको छ । जसले गर्दा पर्यावरणमा असर परेको छ ।
मोदी गाउँपालिका–६ का वडाध्यक्ष दीपेन्द्र लामिछानेले फोहोर व्यवस्थापनको विषयमा गाउँपालिकाको चासो र चिन्ता कम भएको बताउनुभयो। फोहोर फाल्ने उचित ठाउँ नभेटेकाले मोदी खोला किनारमा फोहोर फाल्नुपर्ने बाध्यता रहँदै आएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो ‘पर्यावरणमा असर पर्ने कुरा थाहा छ । तर विकल्प छैन ।’
डिमुवा बजारको फोहोर सिधै खोलामा फाल्ने गरिएको भए पनि अहिले खाडल खनेर व्यवस्थापन गर्दै आएको उहाँले बताउनुभयो। साताको शुक्रबार र शनिबार डिमुवा बजार घुमेर ट्रयाक्टरले फोहोर उठाउने गर्छ । बजार बढ्दै जाने र फोहोर मैलाले सातामा तीन ट्रयाक्टर फोहोर डिमुवा बजारबाट मात्रै उठ्ने गरेको उहाँले बताउनुभयो।
‘म अध्यक्ष भएर आएपछि अस्थायी रूपमै भए पनि मोदी खोला छेउमा खाडल खनेर फोहोर डम्पिङ गर्दै आएका छौं,’ उहाँले भन्नुभयो ‘डम्पिङ साइड निर्माणका लागि दराकमा जमिन हेरिएको पनि छ । मिल्यो भने फोहोरलाई मोहोर बनाउने गरी डम्पिङ सञ्चालन गर्छौं ।’ कार्यपालिका बैठकमा पनि छलफल चलेकाले केही समयमा जग्गाको काम टुंगो लाग्नेमा आफू आशावादी रहेको उहाँले सुनाउनुभयो।
गाउँपालिकाको बाजुङ–५ वारी पातिचौरले तल्लो मोदी खोला जलविद्युतको ड्याम मुन्तिर पुछारमा छरपस्ट फोहोर फाल्दै आएको छ । बर्खाको समय भएकाले सबै फोहोर खोलामा मिसिएका छन् । यता देउपुर–२ पारी पातीचौरले पनि नेपाल विद्युत प्राधिकरणको जग्गामा काँडे तारको बार लगाएर जथाभावी फोहोर फाल्दै आएको छ । नजिकै पार्वती खोला, मोदी खोला र घाट पनि भएकाले फोहोर फाल्ने काम बन्द गर्नुपर्ने स्थानीयको माग छ ।
पोखरा–बागलुङ हाइवे हुँदै कुश्मा, बागलुङ, म्याग्दी र मुस्ताङ पुग्ने पर्यटक डिमुवा र पातिचौर भएर जानुपर्ने हुन्छ । यस ठाउँ असला माछाको लागि पनि परिचित छ । ‘डिमुवा, पातिचौर र विशेष गरी अम्बोट माछाको लागि प्रख्यात हो,’ स्थानीय रविन केसीले भन्नुभयो ‘मोदीको माछा खान पर्यटक लालायित भएर आउँछन् । तर हामीचाहिँ त्यही खोला वरिपरि फोहोर फाल्ने गर्छौं । यो सुहाउने कुरा होइन । गाउँपालिकाले बेलैमा ध्यान पुर्याउन आवश्यक छ ।’
मोदी गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले फोहोर व्यवस्थापनको जिम्मेवारी निजी संस्थालाई दिने तयारी भएको बताउनुभयो । ‘अस्थायी रूपमा अहिले बजार क्षेत्रका वडाहरू ५, ६ र २ ले आफ्नै तरिकाले व्यवस्थापन गर्दै आएका छन्,’ उहाँले भन्नुभयो ‘म निर्वाचित भएर आएदेखि नै स्थायी फोहोर व्यवस्थापनमा लागिरहेकै छु । यस वर्षचाहिँ जसरी पनि जग्गा फाइनलको काम गर्छौं ।’ तीन वटा वडाको जार क्षेत्रमा मात्रै ७ सय बढी घरधुरीहरू रहेको उहाँले बताउनुभयो। कारोबार दैनिकबाट।


261 पटक हेरिएको 

