नेवाको सामाजिक परीक्षण तथा वार्षिक साधारण सभा सम्पन्न

  वास खबर सम्बाददाता  1695 पटक हेरिएको
🔗
394
Shares

सामाजिक परीक्षण प्रस्तुतीकरण कार्यक्रममा उपस्थिति प्रमुख अतिथि तथा अतिथिज्यूहरु

काठमाडौ : खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा विगत ३३ वर्षदेखि कार्यरत संस्था नेपाल स्वास्थ्यको लागि (नेवा) को सामाजिक परीक्षण तथा तेत्तीसौं वार्षिक साधारण सभा यही असोज ९ गते काठमाडौंमा सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१/०८२ को प्रगति प्रतिवेदन प्रस्तुत गर्ने र सामाजिक परीक्षणबाट प्राप्त नतिजाहरूलाई सरोकारवाला निकायहरू समक्ष सार्वजनिक उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रममा नेवाका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. महेश्वर प्रसाद यादवले कार्यक्रमको उद्देश्य, नेवाको परिचय, आ.व. २०८१/२०८२ को संक्षिप्त प्रगति र आय व्यय विवरणका साथै नेवाको ३३ वर्षको अनवरत यात्रामा प्राप्त गरेको उपलब्धिहरू बारे प्रस्तुतीकरण गर्नुभएको थियो । नेवाले देशका विभिन्न ५३ जिल्लामा काम गरिसकेको बताउँदै उहाँले यस वर्षदेखि थप दुई जिल्ला – ओखलढुङ्गा र गुल्मीमा कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

नेवाका कार्यवाहक कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. महेश्वर प्रसाद यादव

उहाँले नेपालको ग्रामीण क्षेत्रमा लक्षित कार्यक्रम सञ्चालन गर्दा नेवाले पछिल्लो दिनमा ुकभरेज मोडलु अर्थात् कार्यरत जिल्लामा खानेपानी, सरसफाइ एवं स्वच्छता सुविधा आवश्यक भएका समुदायहरूमा उक्त सेवा प्रवर्द्घन गर्दै जाने नीति अपनाएको बताउनु भयो । हालसम्ममा देशभरिमा २७८२ वटा आयोजना सम्पन्न गरेर यी सबै आयोजनाहरुको चल्दोपनलाई ८१ प्रतिशत कायम गर्न सफल नेवाले नेपाल सरकारले लिएको विकास लक्ष्यलाई आत्मसात गर्दै आफंनो नीति तथा कार्यक्रमलाई समय सापेक्ष परिस्कृत गर्दै लगेको बारेमा समेत उहाँले प्रस्ट पार्नुभयो ।

कार्यक्रममा सामाजिक परीक्षक डा. तेजबहादुर कार्कीले नेवाको गत आर्थिक वर्षको प्रगति प्रस्तुत गर्दै नेवाको विश्लेषणात्मक परिचय साथै उहाँले सामाजिक परीक्षणको विधि, आयोजनाहरूको स्थलगत अवलोकनबाट प्राप्त नतिजाहरू एवं संस्थागत सुशासन, कार्यक्रम योजना तथा कार्यान्वयन, वित्तीय व्यवस्थापन, सम्बन्ध व्यवस्थापन माथि प्रकाश पार्दै नेवाको कार्यक्रमका सबल पक्ष, सिकाई एवं सुधार गर्नुपर्ने पक्षका साथै नेवाले आगामी दिनमा चाल्नुपर्ने कार्यान्वयन तहका रणनीतिहरू माथि प्रस्तुतीकरण गर्नुभयो ।

लेखा परीक्षणको नतिजा प्रस्तुत गर्नुहुँदै सामाजिक लेखा परीक्षक डा. तेजबहादुर कार्की

यस क्रममा उहाँले घर घरमा पानी उपलब्ध भएपछि ग्रामीण क्षेत्रका वासिन्दाहरूको समय बचत भई यस समयमा करेसाबारी प्रवर्द्धन जस्ता उत्पादनशील काम तथा आराम गर्न पाएको, खानेपानीको गुणस्तरमा सुधार भई जनस्वास्थ्यमा सुधार आएको, विद्यालयमा खानेपानी उपलब्ध भएपछि विद्यार्थीहरूलाई खानेपानी र सरसफाइको सुविधा उपलब्ध भएको मात्र नभई विद्यालयमै विद्यार्थीहरूका लागि स्वस्थकर खाजा पकाउने सुविधा भई ुजङ्क फूडु विस्थापित भएको बताउनु भयो ।

यसैगरी उहाँले घर घरमा पानीको उपलब्धताले एउटै कुवामा धाएर पालो पर्खिनु पर्दा हुने सामाजिक द्वन्द्व हटेको पनि बताउनु भयो । नेवाले प्राविधिक जनशक्तिको उत्पादनमा जोड दिएकाले खानेपानी प्रणालीका सानातिना समस्याको समाधान स्थानीय स्तरबाटै हुने गरेको पनि बताउनु भयो ।

प्रस्तुतीकरणका क्रममा डा. कार्कीले उपभोक्ताहरूले खानेपानीको मुहानलाई थप संरक्षण गर्नु पर्ने, विगतमा सामुदायिक धारा भएका समुदायहरूमा यथासक्य चाँडो एक घर एक धारा नीति अनुसार काम गर्नु पर्ने सुझाव दिएको बताउनु भयो ।

सामाजिक परीक्षक डा. कार्की र नेवाका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा। यादवले दुवै प्रस्तुती पश्चात उठेका जिज्ञासा माथि स्पस्ट पार्दै नेवाले भविष्यमा गर्नुपर्ने सुधारहरूका विषयमा सहभागीहरूबाट प्राप्त सुझावहरूका लागि धन्यबाद व्यक्त गर्नुभयो ।

अतिथिहरूद्वारा नेवाको कार्यशैलीको प्रशंसा

कार्यक्रममा आफ्नो धारणा राख्दै सिन्धुली जिल्लाको फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले नेवाले विगतमा खानेपानी र सरसफाइलाई नागरिकको संवैधानिक अधिकारका रुपमा स्थापनाका लागि गरेको सफल पैरवीको चर्चा गर्दै नेपाललाई खुला दिसामुक्त बनाउन नेवाले गरेको योगदान अत्यन्त सह्राहनीय भएको बताउनु भयो ।

अध्यक्ष सुनुवारले अब समुदायलाई पूर्ण सरसफाइको अवस्थातिर उन्मुख गराउन नेवाको विगतको जस्तै सहयोग र भूमिकाको अपेक्षा गर्नु भयो । उहाँले प्रणालीको दिगोपनमा नेवाले प्रारम्भदेखि नै दिएको ध्यानले गर्दा आज नेवाका ८१ प्रतिशतभन्दा बढी आयोजनाहरू दिगो रुपमा सञ्चालन भइरहेको बताउँदै यसबाट बलियो सामुदायिक योगदान र स्वामित्वलाई प्रतिबिम्बित गरिरहेको उल्लेख गर्नुभयो ।

उहाँले समुदायमा स्थापित मर्मत सम्भार कोषले गर्दा आयोजनाको दिगोपनमा सुधार आएको उल्लेख गर्नुभयो । सिन्धुलीमा पूर्ण सरसफाइ प्राप्त गर्न र पूर्ण सरसफाइ घोषणामा योगदान पुर्‍याउन निरन्तर सहयोगको लागि अनुरोध गरिन् । उनले भविष्यमा क्षतिपूर्ति गर्ने माध्यमको रूपमा प्रणाली बीमा लागू गर्न पनि सुझाव दिइन् ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका वरिष्ठ डिभिजनल इन्जिनियर रामेश्वर घिमिरेले विगत ३३ वर्षदेखि नवरत र सफल रुपमा खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रम सञ्चालन गरिरहेको नेवाले आगामी दिनमा पनि यही गति र उत्साहका साथ काम गर्ने अपेक्षा सहित नेवाको सफल निरन्तरताको लागि शुभकामना दिनु भयो । यसै क्रममा काठमाडौं महानगरपालिका वडा न. ४ का वडा सदस्य नवीन मैनालीले नेवाको प्रधान कार्यालय आफ्नो वडामा हुनु नै आफ्नालागि गौरवको विषय भएको बताउँदै संस्थालाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा काभ्रे जिल्लाको बनेपा नगरपालिका अन्तर्गत नालामा स्थित महेश्वरी शेरा खानेपानी, सरसफाइ तथा स्वच्छता समितिका अध्यक्ष प्रेमकाजी श्रेष्ठले बढ्दो जनसंख्याका कारण पानीको माग पूर्ण रूपमा पूरा हुन नसकेको र सीमित स्रोत साधनको बाबजुद पनि यस समस्यालाई सम्बोधन गर्न महत्वपूर्ण प्रयासहरू गरिएको उल्लेख गर्नुभयो । उहाँले नेवाको सहयोगमा दुईवटा खानेपानी प्रणालीहरू निर्माण भइसकेको बताउँदै घर आँगन सफा भएर मात्र पूरै समुदायको सरसफाइ पूर्ण नहुने भएकाले फोहोर पानी व्यवस्थापन सुनिश्चित गर्न त्यस्ता प्रणालीहरूसँगै प्रशोधन प्लान्टहरू पनि विकास गर्नुपर्ने कुरामा थप जोड दिनु भयो ।

यसैगरी बागलुङ जिल्लाको काभ्रेडाँडा लिफ्ट खानेपानी आयोजनाका अध्यक्ष नरप्रसाद शर्माले नेवाका कर्मचारीहरूको अथक परिश्रम र उत्कृष्ट प्रविधिको छनोटका कारण विगतमा काकाकुलको अवस्था भोगिरहेको आफ्नो समुदायका घर घरमा खानेपानीको सुविधा पुगेको उल्लेख गर्नु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै समाज कल्याण परिषदका सदस्य सचिव मनोज भट्ट

कार्यक्रमका प्रमुख अतिथि तथा समाज कल्याण परिषद्का सदस्य–सचिव मनोज भट्टले नेपालको खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा नेवाले दीर्घकालीन रूपमा पुर्‍याउँदै आएको योगदान र नेपाली समुदायको स्वास्थ्य उत्थानमा गर्नुभएको प्रयास अत्यन्तै प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । उहाँले आज यहाँ प्रस्तुत सामाजिक परीक्षणका नतिजाहरू उत्साहप्रद रहेको बताउँदै नेवाले दिगो विकास लक्ष्यले पानी र सरसफाइका लागि लक्षित गरेका मापदण्डहरू पूरा गर्न नेवाको भूमिका उल्लेखनीय हुने अपेक्षा गर्नुभयो ।

यस क्रममा उहाँले सम्बोधन गर्न समाज कल्याण परिषद्को भूमिकाको महत्त्वको उल्लेख गर्दै गैरसरकारी क्षेत्रले मान्यता प्राप्त वित्तीय अभ्यासहरू कायम राखी लगानी–मैत्री वातावरण सिर्जना गर्नुपर्ने र नेपालको विकासका लागि उत्प्रेरकको रूपमा निरन्तर सेवा गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

कार्यक्रममा नेवाका कार्यवाहक अध्यक्ष मदनकृष्ण शर्माले प्रमुख अतिथि, विशेष अतिथिहरूलाई बहुमूल्य उपस्थितिको लागि र प्रस्तुतीकरणको लागि सामाजिक लेखा परीक्षकलाई कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले देशको उत्थान र राष्ट्रिय विकासलाई अगाडि बढाउन स्वास्थ्य, पानी र सरसफाइको महत्त्वपूर्ण भूमिकामाथि प्रकाश पार्दै नेवाले नेपालका ८ प्रतिशत जनसंख्यालाई गुणस्तरीय रुपले खानेपानी, सरसपफाइ र स्वच्छता सुविधा उपलब्ध गराएको उल्लेख गर्नुभयो । उहाँले सबैका लागि पानी र सरसफाइमा दिगो विकास लक्ष्य ६ र राम्रो स्वास्थ्य र कल्याणमा लक्ष्य ३ प्राप्त गर्न संस्थाको योगदानलाई जोड दिनुभयो ।

सीमित स्रोत र भ्रष्टाचारले नेपालको विकासमा बाधा पुर्‍याएको स्वीकार गर्दै उहाँले नेवाको बजेटको ८० प्रतिशत अंश प्रत्यक्ष रुपमा समुदायहरू खानेपानी, सरसफाइ र स्वच्छता प्रवर्द्धनका लागि खर्च हुने गरेको र बाँकी २० प्रतिशत अंश मात्र प्रशासनिक काममा प्रवाह गर्दै आएको नीतिलाई निरन्तरता दिने बताउनु भयो ।

भ्रष्टाचार व्याप्त भएको वर्तमान समयमा पनि नेवाले दाताहरूबाट प्राप्त रकमको पारदर्शी तरिकाले पूर्ण रुपमा सदुपयोग गरेकाले नै आज समुदायमा नेवाले गरेका कामहरूको सकारात्मक परिणाम देखिको चर्चा गर्दै उहाँले सरोकारवालाहरूसँगको सहकार्यले विश्वसनीयता बढाएको, नेवाका अनुभवी कर्मचारीहरूको अथक मेहेनत र लगन एवं कार्यकारी समितिको मार्गदर्शनले नेवालाई सफल बनाउन योगदान दिएको बताउनु भयो ।

उहाँले दाताहरू र समुदायहरूप्रति जवाफदेहितामाथि जोड दिँदै कार्यक्षमतामा अझ सुधार गर्न, कार्यसम्पादन सुदृढ पार्न र सही दिशामा संगठनात्मक क्षमता निर्माण गरर्न सबैबाट निरन्तर प्रतिबद्धताको लागि आह्वान गर्नुभयो ।


कार्यक्रममा नेवाको कार्यकारी समिति पदाधिकारी एवं साधारण सदस्यहरू एवं नेवाका कर्मचारीहरूको उपस्थिति रहेको कार्यक्रमका अध्यक्ष शर्माले नेवालाई राष्ट्रिय परिदृष्यमा परिचित गराउन योगदान गर्नुहुने सम्पूर्ण कर्मचारीहरू लगायत कार्यकारी समितिका सदस्यहरूका साथै नेवाको सफलताको लागि प्रत्यक्ष अप्रत्यक्ष ढंगले सहयोग उपलव्ध गराउने च्यारिटी वाछर, स्थानीय, प्रदेश एवं संघीय सरकार, समाज कल्याण परिषद, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरू तथा उपभोक्ताहरूलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार