
सर्लाही : सर्लाहीको हरिवन नगरपालिका र वागमती नगरपालिकाको सिमाना भएर बग्ने हरिवन खोलामा आएको बाढीले बृहत खानेपानी उपभोक्ता समितिको मुख्य पाइप बगाएको छ। शनिबार राति आएको तीव्र बाढीका कारण बागमती नगरपालिका–२ र ३ मा सेवा विस्तार गरिएको खानेपानी पाइप बगाउँदा ती क्षेत्रमा खानेपानी आपूर्ति अवरुद्ध भएको समितिका अध्यक्ष बसन्त भट्टराईले जानकारी दिनुभयो।
भट्टराईका अनुसार पाइप बगाएपछि बिहानैदेखि दुवै वडामा खानेपानी वितरण गर्न नसकिएको हो। यसले गरी १ हजार ३ सय ५० घरधुरी खानेपानी सेवाबाट वञ्चित भएका छन्। खोलामा बाढी आउने क्रम जारी रहेकाले तत्काल मर्मत सम्भव नभएको उहाँको भनाइ छ।
‘पानी खुवाउन सकेका छैनौं, बाढीले मर्मत गरिहाल्ने अवस्था पनि छैन,’ उहाँले भन्नुभयो, ‘दिउँसो बाढी घटेमा मर्मत गर्ने योजना छ। बेलुकीसम्म मर्मत गर्न नसके ट्यांकरबाट पानी ओसारेर खुवाउनुपर्ने हुन्छ।’
समितिले बागमती नगरपालिका–१ स्थित आदर्श चोकदेखि उत्तरतर्फ रहेको ओभरहेड ट्यांकीमार्फत करिब २ हजार ३ सय घरधुरीमा खानेपानी सेवा उपलब्ध गराउँदै आएको छ।


301 पटक हेरिएको 

