बाढी पहिरोबाट अवरुद्ध खानेपानी योजना सेवा प्रदायक तथा मन्त्रालयले यथाशीघ्र बनाउनुपर्ने

  वास खबर सम्बाददाता  356 पटक हेरिएको
🔗
31
Shares

काठमाडौं : सरकारले हालैको बाढी र पहिरोका कारण अवरुद्ध खानेपानी योजना सुचारु गर्न सम्बन्धित खानेपानी सेवा प्रदायक संस्था तथा खानेपानी मन्त्रालयले यथाशीघ्र व्यवस्था मिलाउनुपर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १९ औं बैठकले अवरुद्ध खानेपानी, विद्युत, सञ्चार लगायतका अत्यावश्यक सेवाहरू सञ्चालन गर्न क्रमशः खानेपानी सेवा प्रदायक संस्था, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल विद्युत प्राधिकरणले यथाशीघ्र गर्ने गरी सम्बन्धित मन्त्रालयले व्यवस्था मिलाउने निर्णय गरेको हो।

बैठकले विपद्पश्चात फैलिन सक्ने महामारीको आँकलन गरी महामारीजन्य रोग फैलन नदिन खानेपानी मन्त्रालयले स्वच्छ खानेपानीको व्यवस्था मिलाउने निर्णय समेत गरेको छ । यस्तै विपदमा घर गुमाएका परिवारलाई अस्थायी आवास निर्माण गर्न अनुदान उपलब्ध गराउने निर्णय गरेको छ।

विपदमा घरबास गुमाएका परिवारहरूका लागि अस्थायी आवास निर्माण गर्न स्थानीय तहको समन्वयमा यथाशीघ्र लाभग्राही पहिचान गरी पठाउन निर्देशन दिने र लाभग्राही पहिचान भइ आएपश्चात अस्थायी आवास निर्माण अनुदान सम्बन्धी मापदण्ड, २०८१ बमोजिमको अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउने निर्णय गरिएको हो।

यसैगरी बैठकले विभिन्न स्थानमा अवरुद्ध भएका सडकहरू यथाशीघ्र सञ्चालन गर्ने व्यवस्था सम्बन्धित निकाय (भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रदेश सरकार र स्थानीय तह) ले मिलाउने निर्णय भएको छ।

तीनै तहका सरकारहरूले प्रदान गर्ने राहतलाई समन्वय गरी दोहोरो नपर्ने गरी स्थानीय तहमार्फत प्रदान गर्ने, उक्त घटनाका मृतक र बेपत्ताका परिवारलाई प्रचलित कानुन बमोजिम तत्काल राहत उपलब्ध गराउने व्यवस्था गृह मन्त्रालयले मिलाउने र घाइतेको निःशुल्क उपचार गर्ने व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिलाउने, विपद पश्चात फैलिन सक्ने महामारीको आकलन गरी महामारीजन्य रोग फैलन नदिन खानेपानी मन्त्रालयले स्वच्छ खानेपानीको व्यवस्था र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्भाव्य जोखिमयुक्त स्थानहरूमा जनचेतना, स्वास्थ्य शिविर, मनोसामाजिक परामर्श लगायतका कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णय भएको हो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार