खानेपानी सेवा प्रदायकले क्लोरिन अवशेष ०.५ मि.ग्रा/लि.हुने गरी वितरण गर्नुपर्ने

  वास खबर सम्बाददाता  444 पटक हेरिएको
🔗
60
Shares


काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागले खानेपानी सेवा प्रदायकहरुले खानेपानी वितरण गर्दा क्लोरिन अवशेष प्रति लिटर पानीमा ०.५ मिलिग्राम हुने गरी वितरण गर्न अनुरोध गरेको छ ।

हालैको बाढी, पहिरो र डुबानका कारण खानेपानीका स्रोतहरु प्रदुषण हुन सक्ने र यसबाट पानीजन्य रोगहरुको जोखिम हुने भएकाले सेवा प्रदायकद्वारा वितरित पानीमा क्लोरिन अवशेष प्रति लिटर ०.५ मिलिग्राम सुनिश्चित हुने गरी वितरण गर्न अनुरोध गरेको हो।

राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ ले व्यवस्था गरे अनुसार सामान्य अवस्थामा क्लोरिन प्रयोग हुने खानेपानी प्रणालीमा न्यूनतम ०.१ मिलिग्राम प्रति लिटर देखि अधिकतम ०.५ मिलिग्राम प्रति लिटर हुनुपर्छ ।

खानेपानी गुणस्तर अनुगमनका क्रममा प्रणालीको अवस्था अनुसार महामारीको अवस्था र बढी प्रदुषण हुन सक्ने बर्षातको समयमा क्लोरिन अवशेष ०.५ मिलिग्राम प्रति लिटर भन्दा बढी पाइएमा पनि गुणस्तर मापदण्ड प्रतिकूल नमानिने उल्लेख छ ।

विभागले खानेपानी, सरसफाइ तथा स्वच्छताको कमीले फैलिने सक्ने पानीजन्य रोगहरुबाट बच्न सर्वसाधारणमा अनुरोध गर्दै आएको छ ।

विभागले पानीलाई राम्ररी उमालेर वा क्लोरिन झोल वा ट्याब्लेट प्रयोग गरी शुद्धीकरण गरेर मात्र पिउन, बालबालिका, वृद्ध तथा बिरामीहरुको खानपान र सरसफाईमा थप सावधानी अपनाउन र खाना पकाउनु अघि, खाना खानुअघि, शौचालय प्रयोग गरिसकेपछि, बालबच्चाको दिसा धोइसकेपछि, गाईवस्तु र पशुपंछीको सम्पर्कमा आइसकेपछि तथा खेतबारीमा काम गरिसकेपछि अनिवार्य रूपमा साबुन पानीले हात धुन पनि अनुरोध गरेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार