
काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागले हालैको बाढी, पहिरो र डुबानका कारण देशभरका खानेपानी तथा सरसफाइ प्रणालीमा पुगेको क्षतिको विवरण संकलन गर्न सुरू गरेको छ । विभागले सातै प्रदेशबाट क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरी केन्द्रमा पठाउन विभाग अन्तर्गतका खानेपानी तथा ढल व्यवस्थापन कार्यालयहरुलाई परिपत्र गरिसकेको छ ।
विपदबाट भएको क्षतिको विवरण संकलन गर्न सम्बन्धित खानेपानी तथा ढल व्यवस्थापन कार्यालयहरुलाई परिपत्र गरिसकेको खानेपानी तथा ढल व्यवस्थापन विभागका उप-महानिर्देशक नारायण प्रसाद आचार्यले जानकारी दिनुभयो। खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुले समेत अ- आफ्नो खानेपानी आयोजनामा पुगेको क्षतिको विवरण सम्बन्धित कार्यालयहरुलाई उपलब्ध गराउन उप-महानिर्देशक आचार्यले अनुरोध गर्नुभयो।
खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत देशभर १५ वटा खानेपानी तथा ढल व्यवस्थापन कार्यालयहरु छन् । ती कार्यालयहरुले खानेपानी तथा सरसफाइ क्षेत्रमा पुगेको क्षतिको विवरण संकलन गरी विभागमा पठाउनेछन् । त्यसपछि मात्र हालैको बाढी, पहिरो र बाढीले खानेपानी र सरसफाइ क्षेत्रमा पुर्याएको क्षतिको यथार्थ विवरण तयार हुने उप-महानिर्देशक आचार्यले बताउनुभयो।
खानेपानी मन्त्रालयका अनुसार गत सालको असोज ११ र १२ गतेको भीषण बर्षा र बाढी, पहिरोबाट खानेपानी तथा सरसफाइ क्षेत्रमा ४ अर्ब भन्दा बढीको क्षति भएको थियो ।


325 पटक हेरिएको 

