
अर्घाखाँची : सन्धिखर्क नगरपालिकाले यसवर्ष लिफ्टिङ खानेपानी आयोजनाको विद्युत महसुल नतिर्ने भएको छ। संघीय सरकारले खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धी निर्णय कार्यान्वयन गर्न भनी परिपत्र गरेपछि यसवर्ष लिफ्टिङ खानेपानीको विद्युत महसुल नतिर्ने भएको नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत मञ्जु खनालले जानकारी दिनुभयो।
नगरपालिकाले विगतका केही वर्षदेखि लिफ्टिङ खानेपानी आयोजनाको ६० प्रतिशत रकम व्यहोर्दै आएकोमा संघीय सरकारको परिपत्र अनुसार यस वर्षदेखि विद्युत महसुल अनुदान रकम उपलब्ध नगराउने निर्णय गरिएको नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो। यो निर्णयबाट झन्डै डेढ दर्जन खानेपानी आयोजना प्रभावित हुने भएका छन्।
नगरपालिकाभित्र सञ्चालन भएका लिफ्टिङ खानेपानी आयोजनाको ६० प्रतिशत विद्युत महसुल नगरपालिकाले तिरिदिँदै आएको थियो। ४० प्रतिशत खानेपानी उपभोक्ताहरूले तिर्दै आएका थिए।
आर्थिक वर्ष २०८१र८२ मा नगरपालिकाभित्र रहेका १७ वटा लिफ्टिङ खानेपानी आयोजनाको ९ लाख १६ हजार ५ सय ३० रुपैयाँ नगरपालिकाले तिरेको नगरपालिकाका सहायक प्रशासकीय अधिकृत धर्मराज भुसालले बताउनुभयो।


438 पटक हेरिएको 

