
सर्लाही हरिपुर : सर्लाहीको हरिपुर नगरपालिका -९ स्थित पिडारी टोलमा केही समय पहिलेसम्म र्याई र्याई र रुँईरुँई गरेको आवाज गाउँभरि सुनिन्थ्यो । प्रायः बिहानीको समयमा हातेपम्प चलाउँदै पानी तानेको आवाजले कान नै खान्थ्यो । ६/७ घरको बीचमा एउटा हातेपम्प मात्र रहेको पिडारीमा लाइन लागेर पानी तान्नुपर्ने दृश्य सामान्य जस्तै थियो ।
तर अहिले ती आवाजहरू विस्तारै हराउँदै गएका छन्। बस्तीमा रहेका सार्वजनिक हातेपम्पहरु उखेलिएका छन् भने घरघरमा गाडिएका पम्पहरु पनि खियाले खाईसकेका छन् ।
घरघरमा पाइप प्रणालीको पानीमा सहज पहुँच भएपछि हातेपम्पको पानी पिउन छाडेका हुन्। खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डहरूले सञ्चालन गरेका योजनाले गाउँ र नगर क्षेत्रमा घरको आँगनसम्मै सुरक्षित पानी पुर्याउन थालेपछि हातेपम्पको प्रयोग घट्दै गएको हो ।

सर्लाहीको हरिपुर खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्ड र रौतहटको राजपुर खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्ड यस परिवर्तनको स्पष्ट उदाहरण हुन्। यी बोर्डहरूले नियमित मर्मत सम्भार, स्रोत संरक्षण र दिगो व्यवस्थापनको राम्रो अभ्यास गर्दै आएका छन्। बोर्डको नेतृत्वमा बनेको प्रणालीले स्थानीय तहमा खानेपानी सेवाको भरपर्दो सेवा प्रदान गर्दै आएको छ।
अक्सफाम (Oxfam) र वाग्मती सेवा समाजको साझेदारीमा सञ्चालित वैकल्पिक व्यवस्थापन मोडेल (Alternative Management Model) परियोजना अन्तर्गत २०७९ सालमा खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्ड गठन गरिएको हो ।
घर आँगनमै सुरक्षित पानीको सहज पहुँच भएपछि हातेपम्प चलाउनै छाडेको पिडारीकै आशा कुमारी माझीले बताउनुभयो। हातेपम्पको पानी बाध्यताले पिउनु परेको विगत सम्झिदै माझी भन्नुहुन्छ ‘पाइपको पानी पिउने बानी परेपछि पम्पको पानी मुखमा हाल्न पनि मन लाग्दैन।’
यो सुविधा केवल शहरमा मात्र होइन, गाउँमा पनि सम्भव भएको छ। ‘यसले दैनिक श्रम घटाएको छ, महिलाहरूको समय बचत भएको छ, र स्वच्छ पानीको पहुँच विस्तार भएको छ’ हरिपुर खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डका अध्यक्ष हरि बहादुर थापाले भन्नुभयो।
खानेपानी बोर्डले दिने प्रमुख सेवाहरु :
हरिपुर खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डका व्यवस्थापक मनिष कुमार भुजेलका अनुसार बोर्डले निम्न सेवाहरु प्रदान गर्दै आइरहेको छ।

√ खानेपानी सेवा प्रणाली निर्माण, विस्तार, सुधार तथा पुनर्स्थापना गर्ने गराउने
√ नयाँ खानेपानी आयोजनाहरु निर्माण गर्न गराउन योजना, समन्वय, सहकार्य तथा पैरवी गर्ने
√ खानेपानीको श्रोतको पहिचान, वितरण तथा सरसफाई सम्बन्धमा आवश्यक कार्य गर्ने
√ नगरपालिका भित्रका खानेपानी तथा सरसफाइ क्षेत्रको सेवा प्रणाली व्यवस्थापन गर्ने
√ घरधुरी धारा जडान तथा नियमित खानेपानी आपूर्ति
√ खानेपानी आपूर्ति प्रणालीको नियमित अनुगमन तथा मर्मत सम्भार
√ नियमित तथा प्रभावकारी ढंगबाट मासिक महशुल संकलन
√ पालिका स्तरको सरसफाइ तथा स्वच्छता सम्बन्धी प्रवर्द्धनात्मक गतिबिधिहरु सञ्चालन गर्ने ।
नगरपालिका भित्र सर्वसुलभ, सुरक्षित, दिगो तथा नियमित खानेपानी आपुर्ति र सरसफाइ तथा स्वच्छता प्रवर्द्धनका लागि खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डको अर्को विकल्प नरहेको व्यवस्थापक मनिष कुमार भुजेलले बताउनुभयो।


299 पटक हेरिएको 

