ढलान काटेर घरघरमै पाइप प्रणालीको खानेपानी पुर्‍याउँदै राजपुर खानेपानी बोर्ड

  वास खबर सम्बाददाता  560 पटक हेरिएको
🔗
83
Shares

रौतहट : बिगत बर्षहरुमा पानीको छ्यालब्याल हुने असार साउनको महिनामा पनि रौतहटको राजपुर नगरपालिकाको वडा नं. ५ मा यस बर्ष पानीको चरम अभाव भयो । बाह्रै महिना पानी आईरहने हातेपम्पहरु असार साउन महिनामै सुकेपछि यहाँका बासिन्दा खानेपानीको चरम संकट भोग्न बाध्य भए।

त्यसपछि स्थानीय बासिन्दाहरु खानेपानीको समस्या लिएर नगरपालिका धाउन थाले । नगरपालिका अन्तर्गतको राजपुर खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डले सडकको ढलान काटेर पाइप विछ्याए पछि दुई दिनमै घरघरै धारा जडान गर्न सफल भएको राजपुर नगरपालिकाका प्रमुख डा.मोहम्मद राजिक आलमले बताउनुभयो।

पाइप विछ्याउन ढलान गरिएको सडक काटिदै

उहाँका अनुसार अघिल्लो जनप्रतिनिधिले खानेपानीको पाइप विछ्याउने ठाउँ नै नराखी सडक ढलान गरेपछि करिब तीन किलोमिटर सडक काटेर खानेपानीको पाइप विछ्याईएको हो ।

खानेपानी बोर्ड नभएको भए यो सम्भव नै थिएन, बोर्डसँग प्राविधिक कर्मचारी र खानेपानी क्षेत्रको अनुभवी दक्ष जनशक्ति छ र तत्काल समाधान गर्न सम्भव भयो” नगर प्रमुख आलम भन्नुहुन्छ।

अक्सफाम (Oxfam) र ग्रामीण विकास केन्द्र (RDC) को साझेदारीमा सञ्चालित वैकल्पिक व्यवस्थापन मोडेल (Alternative Management Model) परियोजना अन्तर्गत २०७९ सालमा राजपुर खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्ड गठन गरिएको हो । बोर्ड गठन हुनु अघि राजपुर नगरपालिकामा सञ्चालित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरु बोर्डमा समाहित भैसकेका छन् । नगरपालिका भित्रका खानेपानी तथा सरसफाइ सम्बन्धी सम्पूर्ण काम हाल खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डबाट मात्रै भैरहेकोछ।


नगरपालिका प्रमुख आलमका अनुसार बोर्ड अन्तर्गत वडा नं. २ मा एउटा ओभरहेड ट्याङ्क र वडा नंं ४ मा अर्को ओभरहेड ट्याङ्क रहेको छ । वडा नं. ४ मा रहेको ओभरहेड ट्याङ्कबाट वडा नम्बर ५ मा खानेपानी सेवा विस्तार गरिएको हो ।
नगरपालिका अन्तर्गत भरपर्दो सेवा प्रदायक संस्था भएकाले खडेरी जस्तो आपतकालीन अवस्थामा पनि नागरिकलाई खानेपानी सेवा सहज तरिकाले उपलब्ध गराउन सकेको नगर प्रमुख आलमले बताउनुभयो।

नगर प्रमुख डा.मोहम्मद राजिक आलम

“नागरिकले माग गर्ने वित्तिकै पाइप प्रणाली मार्फत घरघरमै खानेपानी वितरण गर्ने काम चानचुने काम होइन” नगर प्रमुख आलम भन्नुहुन्छ “खानेपानी बोर्ड नभएको भए यो सम्भव नै थिएन, बोर्डसँग प्राविधिक कर्मचारी छ र खानेपानीकै क्षेत्रमा लामो अनुभव हासिल गरेको दक्ष जनशक्ति उपलब्ध छ, त्यसकारण तत्काल समाधान गर्न सम्भव भयो ।”

१५ सय घरमा मिटर सहितको धारा

धारामा पानी आएपछि हँसिलो मुद्रामा एक महिला।

राजपुर खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डले मिटर सहितको धारा जडानको कामलाई निरन्तरता दिएको छ । बोर्ड गठन भएपछि हालसम्म वडा नम्बर २ का ७०४ घरधुरीमा मिटर सहितको धारा जडान भैसकेको छ भने वडा नं. ४,५,६ र ३ मा गरी थप ७५० घरमा मिटर सहितको धारा जडानको काम चलिरहेको राजपुर खानेपानी बोर्डले जनाएको छ ।

“बोर्ड गठन भएपछि खानेपानी क्षेत्र विगत भन्दा धेरै व्यवस्थित भैसकेको छ, हामी चाँडै नै १५ सय घरधुरीमा मिटर सहितको धारा जडान गर्नेछौं” नगर प्रमुख आलमले भन्नुभयो।

टाउकोमा रोग, पेटमा उपचार

राजपुर नगरपालिकाको वडा नं. २ र वडा नं. ४ मा मात्र ओभरहेड ट्याङ्क छ । नागरिकलाई सुरक्षित खानेपानी उपलब्ध गराउने हो भने ओभरहेड ट्याङ्क निर्माणको विकल्प नभएको उहाँले बताउनुभयो । खडेरीको समयमा मात्र डिपबोरिङ गर्ने र चापाकलमा लगानी गर्ने पैसा ओभरहेड ट्याङ्क निर्माण गरी पाइप प्रणालीबाट घरघरमा वितरण गर्ने हो भने मात्र खडेरी तथा डुबानको समयमा पनि सेवा प्रभावित नहुने उहाँको धारणा छ ।

अक्सफामको सहयोगमा निर्मित ओभरहेड ट्याङ्क

खडेरी प्रतिकार्यको नाममा टोलै पिच्छे डिपबोरिङ गर्ने र टयुबवेल बाँड्ने कामले रकमको दुरुपयोग मात्र भैरहेको उहाँको ठहर छ । “सरकारको अहिलेको काम रोग टाउकोमा छ तर उपचार पेटमा गरिरहेको जस्तो मात्र भैरहेको छ” उहाँले भन्नुभयो । यस्तो काम गराईले समस्याको दिर्घकालीन समाधान हुन सक्दैन ।

राजपुर नगरपालिकाको वडा नम्बर ३ र वडा नम्बर ९ मा ओभरहेड ट्याङ्क निर्माण गर्न जग्गा व्यवस्थापन गरी घेराबार हालेर राखिएको भएपनि स्रोतको अभावमा निर्माण गर्न नसकेको उहाँले बताउनुभयो। “एउटा ओभरहेड ट्याङ्क निर्माण गरी पानी सप्लाई गर्न ३ करोड जत्ति लगानी लाग्ने रहेछ, जुन रकम व्यवस्थापन गर्न हाम्रो क्षमताले भ्याउँदैन” उहाँले भन्नुभयो।

पाइप विछ्याउन ढलान गरिएको सडक काटिदै


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार