चारआलीले ४० बाट १५ प्रतिशतमा झार्‍यो खानेपानीको चुहावट

चुहावट नियन्त्रणबाट थप ५६५ घरपरिवारलाई खानेपानी वितरण

  वास खबर संवाददाता  329 पटक हेरिएको
🔗
33
Shares

झापा : झापाको चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानी चुहावट दर ४० प्रतिशतबाट १५ प्रतिशतमा झार्न सफल भएको छ। संस्थाका अध्यक्ष राजन चिमरियाका अनुसार नयाँ कार्यसमितिले एक वर्षकै अवधिमा खानेपानी चुहावट उल्लेखनीय रूपमा नियन्त्रण गर्न सफल भएको हो।

चुहावट नियन्त्रणसँगै सोही स्रोत साधनबाट थप ५६५ घरपरिवारलाई खानेपानी वितरण गर्न सकिएको अध्यक्ष चिमरियाले जानकारी दिनुभयो। यस अवधिमा संस्थाले झण्डै १६ किलोमिटर पाइप विस्तार गरेको पनि उहाँले बताउनुभयो।

चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ नेतृत्व २०७८ मंसिर १ गते सम्पन्न निर्वाचनमार्फत चयन भएको हो। अध्यक्ष राजन चिमरियाको नेतृत्वमा आएको समितिले चुनावी प्रतिबद्धताहरू क्रमशः कार्यान्वयन गरिरहेको उहाँले सत्रौं परिषद् सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै जानकारी गराउनुभयो।

‘चुनावी दौरानमा उपभोक्ताको घरघरमा पुग्दै गर्दा प्रत्यक्ष रुपमा थुप्रै समस्याहरु देख्ने अवसर मात्र पाएनौ धेरे सल्लाह सुझाव पनि पायौ, यो हाम्रो लागि मार्गदर्शन भयो’ वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उहाँले भन्नुभयो ‘मेचीनगरका ११, १२, १३ र १४ का वडाबासीसित प्रत्यक्ष सम्बन्ध विस्तार गर्न पाउनुलाई पनि अवसर नै लिएका छौ।’

धेरै कुरा भएको संस्थालाई सहज रुपमा र फरक तवरबाट अगाडि बढाउनु आफ्नो टीमको दायित्व भएको उहाँले उल्लेख गर्नुभयो । ‘संस्था ऋणमा भए पनि त्यसको व्यवस्थापन गर्न अहिलेसम्म सहज हुनु पनि सबल पक्ष नै हो।’ उहाँले भन्नुभयो।

उहाँका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ सुरु भएदेखि हालसम्म ३३४ नयाँ धारा जडान भइसकेका छन्। संस्थाको क्षमता ३ हजार ५६८ घरधुरीलाई मात्र सेवा दिन सक्ने भए पनि हाल ३ हजार ७१० घरपरिवारलाई नियमित खानेपानी सेवा प्रदान गरिँदै आएको छ।

अध्यक्ष चिमरियाका अनुसार अझै ५५० भन्दा बढी उपभोक्ताले खानेपानीका लागि माग गरेका छन्। सहलगानीका अधुरा कामहरू सम्पन्न भएपछि थप ७०० भन्दा बढी घरपरिवारलाई खानेपानी सेवा विस्तार गर्न सकिने संस्थाको लक्ष्य रहेको उहाँले बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार