पाइप प्रणालीबाट वितरित खानेपानीमा बानी लागेपछि……

  वास खबर संवाददाता  427 पटक हेरिएको
🔗
54
Shares

सर्लाही : तराईका कतिपय गाउँहरूमा अझै पनि धेरैले चापाकलकै पानीलाई उत्तम ठान्छन्। चापाकलबाट गर्मीमा चिसो र जाडोमा न्यानो पानी आउने भन्दै पाइप प्रणालीको पानी पिउन सहज नमान्नेको संख्या ठूलो छ । तर बिस्तारै जनचेतना अभिवृद्धि र खानेपानी आपूर्तिमा आएको सुधार सँगै पाइप प्रणालीको पानीमा बानी बस्न थालेको छ ।

सर्लाहीको हरिपुर नगरपालिका ९ पिडारीकी फूलकुमारी देवीले पाइप प्रणालीबाट पानी पिउन थालेको तीन बर्ष भयो । उहाँ भन्नुहुन्छ ‘बानी नपरेसम्म मात्र रहेछ, पाईपको पानीमा बानी बसेपछि कलको पानी त मुखमा हाल्न पनि मन नलाग्ने रहेछ ।’

आफ्नै आँगनको धारामा फूलकुमारी देवी ।

त्यस अघि चापाकलको पानी पिउँदै आउनु भएकी फूलकुमारी देवीको अनुभवमा चापाकलको पानी र पाइपबाट आउने पानीको स्वाद नै फरक छ । ‘चापाकलको पानी खल्लो हुन्छ, केही गन्ध पनि आउँछ । खाना पकाउँदा पनि खाना र तरकारीको रङ नै बद्लिन्छ, तर धाराको पानी हेर्दा पनि सफा र पिउँदा पनि तिर्खा मेट्ने खालको हुन्छ’ उहाँले भन्नुभयो।

पहिले जस्तो पेट दुख्ने, छाला चिलाउने, बच्चाहरूलाई झाडापखाला लाग्ने समस्या पूर्ण रुपमा हटेको छ ।

सर्लाहीको हरिपुर खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डले घरघरमै पाइप प्रणालीबाट खानेपानी आपूर्ति गर्न थालेपछि पिडारी लगायत हरिपुर नगरपालिकाको वडा नं. २, ८ र ९ का बासिन्दाको सुरक्षित खानेपानीमा पहुँच पुगेको हो । पिडारीकै आशा कुमारी माझी भन्नुहुन्छ “पहिले हातेपम्प पेल्दा पेल्दा हातमा ठेला उठ्थ्यो, पानी पनि सफा थिएन, खाना, दाल जे पकाए पनि कालो हुन्थ्यो ।’

हरिपुर खानेपानी बोर्डको कार्यालय

सुरक्षित पानीले स्वास्थ्यमा सुधार

पिडारीका बासिन्दाको अनुभवमा पाइप प्रणालीको पानी पिउन थालेपछि स्वास्थ्यमा समेत सुधार आएको छ । पहिले जस्तो पेट दुख्ने, छाला चिलाउने, बच्चाहरूलाई झाडापखाला लाग्ने समस्या पूर्ण रुपमा हटेको छ । धाराको पानीले नुहाउँदा छाला सम्बन्धी कुनै पनि समस्या नदेखिएको र सरसफाइमा पनि सुधार आएको स्थानीय बताउँछन् ।

“पहिले त पानी भनेको यस्तै त होला भन्ने थियो, धाराको पानी यस्तो सफा आउँछ भन्ने हामीलाई ज्ञान नै थिएन, बल्ल थाहा पायौं, पिउने पनि त सफा हुनुपर्दोरहेछ, जुन अहिले पिउन पाईरहेका छौं’ स्थानीय सबिता कुमारी देवीले भन्नुभयो।

घर आँगन सफा गर्दै पिडारीकी एक महिला

“धाराको पानीले पकाएको दालको कलर नै खाउँ खाउँ लाग्दो हुन्छ, भात पनि सेतो हुन्छ, अनि पानी पिउँदा खल्लो होइन, ताजा लाग्छ” स्थानीय फूलकुमारी देवीले खुसी साट्दै भन्नुभयो।

गर्मीमा चिसो र जाडोमा न्यानो पानी आउने भन्दै चापाकलकै पानी उत्तम मान्ने समुदायले पाइप प्रणालीको पानीमा बानी पर्दै गएपछि बल्ल बुझ्न थालेका छन् ‘पाइप प्रणालीको पानी सुरक्षित हुने रहेछ, केही महसुल बुझाउनु परेपनि स्वस्थ जीवनका लागि यो अपरिहार्य रहेछ ।’

हरिपुर खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डले हाल करिब ११ सय घरधुरीलाई नियमित सुरक्षित खानेपानी आपूर्ति गरिरहेको छ । भविष्यमा हरिपुर नगरपालिकाभित्रका सम्पूर्ण घरधुरीमा पाइप प्रणाली मार्फत खानेपानी पुर्‍याउने लक्ष्य रहेको बोर्डका अध्यक्ष हरिबहादुर थापाले बताउनुभयो।

बोर्ड अन्तर्गत सञ्चालित पिडारीको ओभरहेड ट्याङ्क

हरिपुर नगरपालिका भित्र ८ हजार ३५० घरधुरी रहेको छ ।

अक्सफाम नेपाल र वाग्मती सेवा समाजको साझेदारीमा सञ्चालित वैकल्पिक व्यवस्थापन मोडेल (Alternative Management Model) परियोजना अन्तर्गत २०७९ सालमा हरिपुर खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्ड गठन भएको हो ।

बोर्डले हरिपुर नगरपालिकाभित्र सञ्चालित पिडारी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, सानो जगतपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र इन्द्रपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई एउटै व्यवस्थापनमा एकीकृत गरी नियमित सुरक्षित खानेपानी आपूर्ति गरिरहेको छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार