
रौतहट : रौतहटको राजपुर नगरपालिकाको वडा नं. ५ मा यसअघि कहिल्यै नसुकेका हातेपम्पहरु यसबर्षको सुख्खा याममा सबै सुके । गाउँमा खानेपानीको हाहाकार भयो ।
त्यही ठाउँमा यही असोज महिनामा तीनदिन लगातार बर्षा हुँदा डुबान भयो । डुबानका कारण सबै हातेपम्पहरु आधा आधासम्म डुबे । डुबानको समयमा पनि खानेपानीको हाहाकार नै भयो। कतिले धमिलो पानी पिएर प्राण धाने ।

वडा नं. ५ कै कतिपय बासिन्दाहरुलाई भने न डुबानले प्रभावित तुल्यायो, न खडेरीको समयमा नै खानेपानीको समस्या भयो, किनकि उनीहरूसँग एउटा स्थायी विकल्प थियो, ’पाइप प्रणालीबाट वितरित खानेपानी।’
राजपुर खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्ड मार्फत जहाँ जहाँ खानेपानी पुर्याईएको छ, ती ठाउँहरुमा खडेरी र बाढी तथा डुबानको समयमा कुनै पनि समस्या नभएको राजपुर नगरपालिकाका मेयर डा. मोहम्मद राजिक आलमले बताउनुभयो।

राजपुर ५ की ५० वर्षीया रामपती देवी भन्नुहुन्छ, “डुबान हुँदा हातेपम्पको पानी धमिलो हुन्थ्यो, खडेरीको समयमा कल सुकेर हैरान हुन्थें, अहिले त धारामा पानी आईरहन्छ, धेरै सुविधा पुगेको छ ।’
तीन वर्षअघि सुरु भएको राजपुर खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डले करिब १५ सय घरधुरीमा पाइप प्रणाली विस्तार गरेको छ ।
अक्सफाम (Oxfam) र ग्रामीण विकास केन्द्र (RDC) को साझेदारीमा सञ्चालित वैकल्पिक व्यवस्थापन मोडेल (Alternative Management Model) परियोजना अन्तर्गत २०७९ सालमा राजपुर खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्ड गठन गरिएको हो ।
राजपुर नगरपालिकामा सञ्चालित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरु बोर्ड गठन भएपछि बोर्डमा समाहित भैसकेका छन् । नगरपालिका भित्रका खानेपानी तथा सरसफाइ सम्बन्धी सम्पूर्ण काम हाल खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डबाट मात्रै भैरहेकोछ।
बाढी, डुबान र खडेरीमा पनि निरन्तर पानी वितरण गर्न सकियो भने मात्र सेवा भरपर्दो हुने मेयर आलम बताउनुहुन्छ । “त्यसका लागि हामीले भूमिगत पानीको स्रोतलाई ओभरहेड ट्याङ्कीमा जम्मा गरी वितरण गरिरहेका छौँ।”
नगरपालिका प्रमुख आलमका अनुसार बोर्ड अन्तर्गत वडा नं. २ मा एउटा ओभरहेड ट्याङ्क र वडा नं. ४ मा अर्को ओभरहेड ट्याङ्क रहेको छ ।

खानेपानी प्रणालीमा अहिले सौर्य ऊर्जाबाट सञ्चालित मोटर जडान गरिएको छ। जसले बिजुली अभावका बेला पनि खानेपानी निरन्तर आपूर्ति भैरहन्छ । बोरहोल गरिएको पानीको गुणस्तर जाँच र फिल्टर प्रणालीबाट सुरक्षित बनाएर मात्र खानेपानी वितरण गरिएको छ ।
जलवायु जोखिम बढ्दै गए पनि समाधान असम्भव छैन। आफ्नो नागरिकलाई सुरक्षित पानी उपलब्ध गराउनुपर्छ भन्ने स्थानीय सरकारले जिम्मेवारी बोध गर्ने, प्रविधिको सही प्रयोग गर्ने दीगो सोच भए, बाढी र खडेरी दुबै अवस्थासँग जुझ्न सक्छन् भन्ने उदाहरण हरिपुर खानेपानी बोर्डले प्रस्तुत गरेको छ ।

जुन जुन घरमा पाइप प्रणालीको खानेपानी जोडिएको छ, उनीहरु भन्छन्, “डुबान होस या खडेरी, एउटै विकल्प, खपाइप प्रणाली ।’’

178 पटक हेरिएको 

