बन्द रहेको मेलम्चीको मुहान खुलाउन पहल जारी, विभिन्न पक्षसँग वार्ता सुरु

  वास खबर संवाददाता  293 पटक हेरिएको


काठमाडौ : बन्द रहेको मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र पुनः सञ्चालन गर्न सम्बन्धित निकायहरूले विभिन्न पक्षसँग वार्ता सुरु गरेका छन्। तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै स्थानीयले काठमाडौमा मेलम्चीको खानेपानी आपूर्ति गर्न दिएका छैनन् ।

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता इन्जिनियर राजेन्द्रप्रसाद पन्तका अनुसार शुक्रबार र शनिबार विभिन्न स्थानीय पक्षसँग सकारात्मक वार्ता भएको छ। आइतबार (आज) पनि वार्ता जारी रहने उहाँले जानकारी दिनुभयो। “खानेपानीजस्तो अत्यावश्यक सेवा रोक्नु नहुने भन्दै सबै पक्ष मुहान खुलाउने तर्फ सकारात्मक छन्,” उहाँले भन्नुभयो।

स्थानीयले राखेका सबै माग खानेपानी मन्त्रालयको एक्लो क्षमताभित्र सम्भव नभएकाले यो विषय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालय, र मुख्य सचिवस्तरसम्म पुगेको उहाँले बताउनुभयो। ती निकायहरूले माग सम्बोधनका लागि पहल अघि बढाइरहेको पन्तले जानकारी दिनुभयो।

वार्तामा सहभागी स्थानीय सरोकार समितिहरूले विभिन्न माग राखेका छन्। आयोजनाको ठेकेदार कम्पनी इटालियन फर्म सिएमसी (CMC) ले स्थानीय व्यवसायीहरूबाट उधारोमा खरिद गरेका सामग्रीको भुक्तानी नगरी २०७५ सालमा आयोजना छाडेर हिँडेपछि ती आपूर्तिकर्ताले अझै क्षतिपूर्ति नपाएको जनाएका छन्। सोही कारण उनीहरूले पनि मुहान क्षेत्रमा अवरोध सिर्जना गरेका हुन्।

त्यस्तै, मेलम्ची खानेपानी विकास समितिको नयाँ गठन आदेश जारी भएपछि बाढी प्रभावित क्षेत्रमा रोकिएको सामाजिक उत्थान कार्यक्रम पुनः सञ्चालन गर्नुपर्ने माग पनि स्थानीयले राखेका छन्।

मेलम्ची खानेपानी, काठमाडौं उपत्यका संघर्ष समितिका सदस्य नारायण गिरी का अनुसार समितिको शनिबारको बैठकले मुहान बन्द गरेका स्थानीयको मागप्रति ऐक्यबद्धता जनाउने निर्णय गरेको छ। साथै, सरकारले छिट्टै पानी आपूर्ति पुनः सुरु गर्न दबाब दिन ज्ञापनपत्र बुझाउने तयारी गरिएको उहाँले जानकारी गराउनुभयो।

मेलम्ची बाढीपीडित संघर्ष समितिका सचिव छिरिङ ग्याल्बो लामाले मेलम्चीको पानी रोक्नु रहर नभई बाध्यता भएको स्पष्ट पार्नुभयो। उहाँका अनुसार तत्कालीन मन्त्री यादवसँग भएको सम्झौताको अक्षरशः कार्यान्वयन उनीहरूको एक मात्र माग हो।

तत्कालीन खानेपानी मन्त्री र संघर्ष समिति बीच भएको सम्झौता :

स्थानीयले मेलम्चीको पानी पथान्तरण रोकेपछि बिहीबार दिउँसो १ बजेदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण पूर्ण रूपमा रोकिएको छ। मुहान बन्द हुनु अघि दैनिक १८ देखि १९ करोड लिटर पानी काठमाडौं आइरहेकोमा हाल आपूर्ति शून्य छ।

२०७८ असार १ गते मेलम्चीमा आएको विनाशकारी बाढीपछिका समस्या समाधानका लागि तत्कालीन मन्त्री यादव र मेलम्ची बाढीपीडित संघर्ष समिति बीच २०८१ असोज २१ गते सम्झौता भएको थियो। उक्त सम्झौता कार्यान्वयन नभए पछि स्थानीयवासी पुनः आन्दोलित भएका हुन्।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार