मेलम्चीको सुरुङ् खुलाउन खानेपानी मन्त्रालयमा सरोकारवाला बीच छलफल

  वास खबर सम्बाददाता  313 पटक हेरिएको


काठमाडौ : बन्द रहेको मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र पुनः सञ्चालन गर्न खानेपानी मन्त्रालयमा छलफल सुरु भएको छ । मेलम्चीका स्थानीय बासिन्दाले बन्द गरेको मेलम्चीको सुरुङ् खुलाउन खानेपानी मन्त्रालयमा सरोकारवाला बीच छलफल सुरु भएको हो।

मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिका अगुवा राजकुमार भण्डारीका अनुसार खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यसहित सरोकारवाला पक्षसँग प्रारम्भिक वार्ता भइरहेको छ ।

‘२०८१ असोजमा तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवको रोहबरमा भएको सम्झौता कार्यान्वयन नगरेकाले हामीले सुरुङमा पठाइएको पानी खोलामा फर्काएका थियौं, अहिले त्यसै विषयमा छलफल भइरहेको छ’ उहाँले भन्नुभयो।

२०८१ साल असोज २१ गते मेलम्ची खानेपानी बाढीपिडित संघर्ष समिति र खानेपानीमन्त्री प्रदिप यादव बीच संघर्ष समितिले उठाएको मागलाई अल्पकालीन र दिर्घकालीन रुपमा गर्नुपर्ने कामहरुको सूची बनाई क्रमशः सम्पन्न गर्दै जाने भनी सम्झौता गरेका थिए ।

बाढी पीडित संघर्ष समिति र मन्त्रालय बीच स्थानीय स्तरमा ऋण लिई व्यवसाय गरिरहेकाहरुले बैंक तथा वितिय सस्थावाट लिएको ऋण मिनाहा गर्न र विद्युत महशुल जरिवाना सहितको मिनाहा गर्न सम्वन्धित निकायमा पहल गर्ने, हेलम्बु गाँउपलिकामा प्राविधिक इन्जिनियरिङ कलेज स्थापना गर्न संघिय शिक्षा मन्त्रालय मार्फत हुनेगरी विशेष पहल गर्ने, हेलम्बु गाउँपालिकाका जोखिममा रहेका सार्वजनिक संरचाना, घर, वस्ती सुरक्षा सम्बन्धि एकीकृत विकास कार्यक्रम तथा नयाँ शहरका रूपमा विकास गरी तत्काल अध्ययन कार्य अगाडि वढाउनका लागि शहरी विकास मन्त्रालय मार्फत हुने गरी विशेष पहल गर्ने लगायत सम्झौता भएको थियो।

यस्तै २०७८ असार १ गते र साउन १६ र १७ गतेको बाढीले बगरमा परिणत भएको जग्गामा सो ठाउँहरूमा भविष्यमा गएर फेरी व्यक्तिले संरचना निर्माण तथा खेतीपाती गर्ने कार्य गर्ने हुँदा यस्तो खालको विपदहरू पुन दोहोरिने देखिएको हुँदा स्थानीयको जग्गा संघिय सरकारले स्वामित्वमा लिइ दुवै पक्षको सहमतिमा तत्कालिन दररेटमा मुआब्जा उपलब्ध गराउने व्यवस्थाका लागि विशेष पहल गर्ने, गोल्फुभञ्ज्याङ-चित्रे-ग्याल्थुम सुरुड-चनौटे रातोपुल-पाल्चोक देवीथान-लावगाउँ-बाँसखर्क-वरुवा-याङ्ग्री-वैकल्पिक सडकको आवश्यक प्रक्रिया सुरु गर्ने लगायत सम्झौतामा उल्लेख थियो।

संघर्ष समितिका अध्यक्ष पासाङ शेर्पाका अनुसार मेलम्ची र सहायक रिबर्मा खोला दुवैबाट पानी प्रवाह बन्द गरिएको हो । संघर्ष समितिले यसअघि काठमाडौंस्थित मेलम्ची खानेपानी आयोजनाको मुख्य कार्यालयमा कार्यकारी निर्देशकको कार्यकक्षमा तालाबन्दी समेत गरेका थिए । माग सम्बोधन नभएको भन्दै उनीहरुले सातौँ दिनमा पानी खोलामा फर्काएर पानी काठमाडौं आउन बन्द गरेका हुन् ।

यससँगै काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० ले उपत्यकामा अहिले आन्तरिक स्रोतबाट मात्र पानी वितरण गर्न सकिने जनाएको छ । सुन्दरीजल प्रशोधन केन्द्रबाट थोक वितरण केन्द्रमा पठाइने पानी आपूर्ति पूर्ण रूपमा रोकिएको केयूकेएलको जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार