
काठमाडौ : काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य वस्तु र फोहर बाल्न रोक लगाएको जनाएको छ । अटेर गरी बालेमा प्रतिपटक १० हजार रुपियाँ जरिवाना हुनेछ ।
चिसो बढेसँगै फोहर, प्लास्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्ने क्रम बढेपछि महानगरपालिकाले यस्ता वस्तु बाल्न रोक लगाइएको हो ।
जाडो महिनामा काठमाडौँ उपत्यकाको वायु प्रदूषणको स्तर अत्यधिक रूपमा बढ्ने गरेको छ । प्रदूषण बढ्नमा यसरी खुला रूपमा बालिने वस्तुको महत्त्वपूर्ण हिस्सा छ । विभागका प्रमुख सरिता राई भन्नुहुन्छ, ‘जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकुल असर घटाउन यस प्रकारको निर्णय गरिएको हो ।’
वायु प्रदूषणले बालबालिका, जेष्ठ नागरिक, दम खोकीजस्ता श्वासप्रश्वासका बिरामी, मुटुमा समस्या भएका तथा दीर्घ रोगको सामना गरिरहेका व्यक्तिहरूलाई बढी असर गर्छ । ती व्यक्तिहरूसँगै सहरवासी सबैको स्वास्थ्य र वातावरण जोगाउन खुला रूपमा वस्तु बालेर धुँवा उत्सर्जन घटाउनुपर्छ ।
महानगरपालिकाले जारी गरेको प्रतिबन्ध सम्बन्धी अनुरोध कसैले अटेर गरेमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन, २०८२ बमोजिम कारबाही हुने उहाँले बताउनुभयो। यस व्यवस्था बमोजिम प्रति पटक १० हजार रुपियाँ जरिवाना हुने प्रावधान छ।


201 पटक हेरिएको 

