बाँके र बर्दियाका खानेपानी आयोजनाको अनुगमन, बजेट कटौतीले आयोजनाहरु रुग्ण हुने खतरा

  वास खबर सम्बाददाता  225 पटक हेरिएको
🔗
19
Shares

बाँके : लुम्बिनी प्रदेश खानेपानी तथा सहरी विकास मन्त्रालय अन्तर्गतको खानेपानी विभागका निर्देशक आविद अहमद नेतृत्वको टोलीले बाँके र बर्दियामा निर्माणाधीन र सञ्चालनमा रहेका खानेपानी आयोजनाहरुको स्थलगत अनुगमन गरेको छ । टोलीले बाँके र बर्दियामा रहेका खानेपानी आयोजना मध्ये रुग्ण रहेका र राम्ररी सञ्चालनमा रहेका आयोजनाहरुको स्थलगत अनुगमन गरी जानकारी लिएको हो ।

खजुरा ४ ई गाउँस्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिको स्थलगत अनुगमनपछि खानेपानी विभागका निर्देशक अहमदले प्रदेश सरकारले प्रत्येक घरधुरीमा स्वच्छ पिउने पानी उपलब्ध गराउन निर्माणाधीन रहेका सम्पूर्ण आयोजना छिटोभन्दा छिटो सम्पन्न गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताउनुभयो । “सङ्घीय सशर्त अनुदानबाट निर्माण भईरहेका सबै आयोजनाका लागि चालु आवमा बजेट कटौती गरिएपछि चुनौती थपिएको छ” उहाँले भन्नुभयो ।

उहाँले सङ्घीय सशर्त अनुदानका योजनालाई निरन्तरता दिन केन्द्र सरकारसँग आवश्यक पहल गर्ने बताउनुभयो । कतिपय योजनाहरु सम्पन्न हुने चरणमा पुगेको भए पनि बजेट कटौती भएकाले समस्या देखिएको खानेपानी तथा सरसफाइ कार्यालय नेपालगञ्जका प्रमुख विधान अर्यालले बताउनुभयो । उहाँका अनुसार सङ्घीय सशर्त अनुदानबाट निर्माण भइरहेका ४२ वटा आयोजनाका लागि चालु आवमा बजेट कटौती गरिएको छ ।

बाँकेका चालु आवमा प्रदेश सरकार अन्तर्गत ४४ वटा आयोजना निर्माण भइरहेका छन् । ती मध्ये केही आयोजनाको काम सम्पन्न भइसकेको छ । कार्यालयले गत आव २०८१/८२ सम्म करिब २० हजार घरधुरीमा आयोजना अन्तर्गत खानेपानीको धारा वितरण गरिएको जनाएको छ ।

बाँकेमा आव २०७५/७६ देखि प्रदेश सरकारले समेत खानेपानीमा काम गर्न थालेपछि खानेपानी आयोजना निर्माणको काममा तीव्रता आएको हो। खजुरा ४ स्थित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष उज्वल बिसीले आठ सय बढी घरधुरीमा खानेपानी विस्तार गरिएकाले हालको ट्याङ्की सानो भएकाले थप ट्याङ्की आवश्यक देखिएको बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार