
काठमाडौ : मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समिति बीच आइतबार भएको छलफल निष्कर्ष बिहीन भएपछि आज पुनः छलफल सुरु भएको छ ।
मेलम्ची खानेपानी तथा बाढीपीडित संघर्ष समितिका प्रतिनिधि राजकुमार भण्डारीका अनुसार मुख्य सुरुङ पुनः खोल्न खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी बाढी पीडित संघर्ष समिति बीच विगतमा भएका सहमति कार्यान्वयनको माग सहित सोमबार पुनः छलफल सुरु भएको हो ।
‘मन्त्रालयमा सम्पन्न छलफलमा मेलम्चीको पानी सञ्चालन गर्न सोमबार बिहान ११ बजे निर्णायक वार्ता बस्ने सहमति भएको थियो, जसमा हामी हाम्रो मागमा अडिग छौं’ भण्डारीले भन्नुभयो। हेलम्बुवासी विष्णु खड्काले मुख्य जोड विगतमा भएका सहमति कार्यान्वयनमै रहेको बताउनुभयो ।
२०८१ साल असोज २१ गते मेलम्ची खानेपानी बाढीपिडित संघर्ष समिति र खानेपानीमन्त्री प्रदिप यादव बीच स्थानीय स्तरमा ऋण लिई व्यवसाय गरिरहेकाहरुले बैंक तथा वितिय सस्थावाट लिएको ऋण मिनाहा गर्न र विद्युत महशुल जरिवाना सहितको मिनाहा गर्न सम्वन्धित निकायमा पहल गर्ने, हेलम्बु गाँउपलिकामा प्राविधिक इन्जिनियरिङ कलेज स्थापना गर्न संघिय शिक्षा मन्त्रालय मार्फत हुनेगरी विशेष पहल गर्ने, हेलम्बु गाउँपालिकाका जोखिममा रहेका सार्वजनिक संरचाना, घर, वस्ती सुरक्षा सम्बन्धि एकीकृत विकास कार्यक्रम तथा नयाँ शहरका रूपमा विकास गरी तत्काल अध्ययन कार्य अगाडि वढाउनका लागि शहरी विकास मन्त्रालय मार्फत हुने गरी विशेष पहल गर्ने लगायत सम्झौता भएको थियो।
यस्तै २०७८ असार १ गते र साउन १६ र १७ गतेको बाढीले बगरमा परिणत भएको जग्गामा सो ठाउँहरूमा भविष्यमा गएर फेरी व्यक्तिले संरचना निर्माण तथा खेतीपाती गर्ने कार्य गर्ने हुँदा यस्तो खालको विपदहरू पुन दोहोरिने देखिएको हुँदा स्थानीयको जग्गा संघिय सरकारले स्वामित्वमा लिइ दुवै पक्षको सहमतिमा तत्कालिन दररेटमा मुआब्जा उपलब्ध गराउने व्यवस्थाका लागि विशेष पहल गर्ने, गोल्फुभञ्ज्याङ-चित्रे-ग्याल्थुम सुरुड-चनौटे रातोपुल-पाल्चोक देवीथान-लावगाउँ-बाँसखर्क-वरुवा-याङ्ग्री-वैकल्पिक सडकको आवश्यक प्रक्रिया सुरु गर्ने लगायत सम्झौतामा उल्लेख थियो।
आइतबार मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यको अध्यक्षतामा भएको छलफलमा मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक जगरनाथ दास, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रतिनिधि, सरोकारवाला निकाय, राजनीतिक दल र जेन–जीका प्रतिनिधि सहभागी थिए । संघर्ष समितिको तर्फबाट समितिका पदाधिकारी, स्थानीय भेन्डर, घरजग्गा भाडावाला तथा सामाजिक उत्थान कार्यक्रमका प्रतिनिधिहरू उपस्थित थिए ।
संघर्ष समितिले काठमाडौंले मेलम्चीको पानी उपभोग गरे बापत स्थानीय हेलम्बु गाउँपालिकालाई २५ प्रतिशत लाभांश दिने सहमति कार्यान्वयनको माग गर्दै आएको छ । स्थानीयले गत बिहीबार मेलम्चीको पथान्तरण गरिएको क्षेत्र अम्बाथानको सुरुङमा एक्स्काभेटर प्रयोग गरी मेलम्ची खोलाको पानी खोलातिर फर्काएका थिए ।


413 पटक हेरिएको 

