दुई सय घरधुरीलाई खानेपानी योजना

  वास खबर सम्बाददाता  219 पटक हेरिएको

नुवाकोट : वर्षौंदेखिको खानेपानीको समस्याको समाधानका लागि नुवाकोटको जिलिङमा खानेपानीको वृहत् योजना सञ्चालन गरिएको छ। दुई सय घरधुरीका लागि बेलकोटगढी नगरपालिका-८ जिलिङमा पहिलो चरणमा पाँचवटा खानेपानी ट्यांकी र त्यसका संरचनाहरू निर्माण भइरहेका छन्। संघीय खानेपानी मन्त्रालयबाट उक्त योजना सञ्चालन भएको वडाध्यक्ष सुरेशलाल चित्रकारले बताउनुभयो।

उहाँका अनुसार हालसम्म पहिलो चरणमा विभिन्न गाउँमा पाँचवटा ट्यांकी निर्माण सम्पन्न भएको र पाइप समेत खानेपानी कार्यालयले पठाइसकेको छ। कुल एक करोड रुपैयाँको लागतमा उक्त योजना सञ्चालन भएको वडाध्यक्ष चित्रकारले बताउनुभयो।

उहाँका अनुसार अझै तीनवटा खानेपानी ट्यांकी निर्माणका क्रममा रहेको छ। हालसम्म पहिलो चरणमा ठूलो खोलामा २० हजार लिटर क्षमता, पाचखलेमा २० हजार लिटर क्षमता, नयाँ बस्ती ज्यामिरेमा २० हजार लिटर क्षमता, द्वारेथोकमा २० हजार क्षमता र चिसापानीमा १५ हजार लिटर क्षमताको खानेपानी ट्यांकी निर्माण सम्पन्न भएको छ।

दोस्रो चरणमा अझै केही टोलहरूमा खानेपानी ट्यांकी निर्माण गरिने र ट्यांकी निर्माण सम्पन्न भएको ती टोलहरूमा पाइप लाइन विस्तारको काम अगाडि बढाइएको छ। यसबाट दुई सय घरधुरीका हजारौं गाउँवासीलाई पिउनेपानीको सुविधा पुर्‍याउने लक्ष्य रहेको बेलकोटगढी नगरपालिकाले जनाएको खबर अन्नपूर्ण पोष्टले प्रकाशन गरेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार