
काठमाडौ : धादिङको ज्वालामूखी ग्रामीण खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्ड सहित ८ वटा खानेपानी सेवा प्रदायकलाई सम्मान गरिएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागको ५४ औं स्थापना दिवसको उपलक्ष्यमा बोर्ड सहित उर्लाबारी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मोरङ, सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बारा, लुभु खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था ललितपुरलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको हो ।
यस्तै पर्वतको शिवालय खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, दाङको घोराही खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, सुर्खेतको शुभघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र शिवनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था कैलालीलाई पनि सम्मान गरिएको छ ।
सबै खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका पदाधिकारीहरुलाई खानेपानी मन्त्रालयका सचिव ई.प्रमिला देवी शाक्य बज्राचार्य र खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठले दोसल्ला ओढाई सम्मान पत्र प्रदान गर्नुभएको थियो।

सेवा निवृत्त कर्मचारी पनि सम्मानित
विभागको स्थापना दिवसको अवसरमा सेवा निवृत्त कर्मचारीहरुलाई पनि सम्मान गरिएको छ । सेवा निवृत्त कर्मचारीहरु जक्की अहमद अन्सारी, रामचन्द्र काफ्ले, सुमन बज्राचार्य, किशोर पन्थी, राम उदगार यादव र सुन बहादुर गोपालीलाई सम्मान गरिएको हो ।
स्थापना दिवसमा काठमाडौ उपत्यका खानेपानी लिमिटेडका अध्यक्ष कमलेश कुमार अग्रवाल, खानेपानी तथा सरसफाइ महसुल निर्धारण आयोगका अध्यक्ष ई.रुद्र प्रसाद गौतमले खानेपानी तथा ढल व्यवस्थापन विभागले देशको कुना कन्दरासम्म खानेपानी तथा सरसफाइ सेवा आपूर्तिका लागि पु¥याएको योगदानको प्रसंशा गर्दै शुभकामना व्यक्त गर्नुभयो।
दिवसमा खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक ई.नारायण प्रसाद आचार्यले विभागको स्थापनाकाल देखि हालसम्मको प्रगति एवं भावी दिनमा गर्नुपर्ने कामका बिषयमा विस्तृतमा प्रस्तुतीकरण गर्नुभयो।

स्थापना दिवस कार्यक्रम खानेपानी मन्त्रालयका सचिव ई.प्रमिला देवी शाक्य बज्राचार्यको प्रमुख आतिथ्य तथा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठको सभापतित्वमा सम्पन्न भयो।


878 पटक हेरिएको 

