खानेपानी सहित मन्त्रालयका सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन : काममा कुनै पनि बहानाबाजी नहोस्

  वास खबर संवाददाता  352 पटक हेरिएको

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले खानेपानी मन्त्रालय सहित आफूले सम्हालिरहेका अन्य मन्त्रालयका सचिवहरुलाई प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भएर काम गर्न निर्देशन दिनु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र खानेपानी मन्त्रालय सहित सात मन्त्रालयका सबै सचिवलाई सिंहदरबारमा उहाँले निर्देशन दिनु भएको हो।

प्रधानमन्त्री कार्कीले सचिवहरूलाई मन्त्री नभएकै कारण काममा बाधा नपरोस् भनेर अधिकार प्रत्यायोजन गरेको र अझै पनि नपुगे थप अधिकार दिन पनि तयार रहेको बताउँदै आफ्नो जिम्मेवारीको कुनै पनि कामका लागि अरूको मुख नताक्न निर्देशन दिनुभयो। ‘जेनजी आन्दोलनको भावना अनुसार छिटोछरितो सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा गम्भीर भएर लाग्नुहोस्’ उहाँले भन्नुभयो।

‘हामी अस्थायी हौँ। म क्षणिक हो। ब्युरोक्रेसी स्थायी सरकार हो। तपाईँहरू यही क्षेत्रमा लामो समयदेखि हुनुहुन्छ। अनुभव, दक्षता र विशेषज्ञता पनि तपाईँहरूसँग हुन्छ। मेरो दाहिने–देब्रे जे भने पनि तपाईँहरू हो।’ प्रधानमन्त्री कार्कीले भन्नुभयो ‘मैले निर्देशन दिन सक्छु, सही गरेर दिन सक्छु तर त्यसको कार्यान्वयन तपाईँहरूले नै गर्ने हो। बोलेर मात्र हुँदैन। काम त तपाईँहरूले नै गर्ने हो। त्यसैले नतिजामुखी भएर काम गर्नुहोस्। काममा कुनै प्रकारको बहानाबाजी नहोस्।’

मन्त्रीको भौतिक उपस्थिति नहुँदा रोकिएका कामहरू केही छन् भने पनि तुरुन्त अगाडि बढाउनुपर्ने प्रधानमन्त्री कार्कीको भनाइ थियो। राहदानी, अनुमतिपत्र, कर भुक्तानीजस्ता अत्यावश्यक र उच्च जनसम्पर्क हुने सेवाहरूमा नागरिकको भौतिक उपस्थिति शून्यमा झार्ने गरी ई–गभर्नेन्स प्रणालीलाई युद्धस्तरमा लागू गर्न पनि उहाँले निर्देशन दिनुभयो।

प्रधानमन्त्री कार्कीले पुँजीगत बजेट कार्यान्वयनलाई उच्च प्राथमिकता दिएर यसको मासिक प्रगति अनुगमन गरी खर्चमा ढिलाइ गर्ने वा अवरोध सिर्जना गर्ने आयोजना प्रमुख वा जिम्मेवार कर्मचारीमाथि कडाइका साथ कार्यसम्पादन करार लागू गरी तत्काल स्पष्टीकरण र कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभयो।

१० सदस्यीय मन्त्रीपरिषदमा प्रधानमन्त्री मातहतमा परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय,महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय गरी ७ वटा मन्त्रालय रहेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार