खानेपानीको चुनाव : चार दलिय गठबन्धन हराउँदै कसरी जिते स्वतन्त्र व्यक्तिले ?

  वास खबर सम्बाददाता  233 पटक हेरिएको

अर्घाखाँची : सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाइ नगर आयोजना उपभोक्ता मूल संस्थाको छैटौं अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि चार दलीय गठबन्धन भयो। कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनको साझा उम्मेदवार बने युवराज खत्री । यी चारै दलको साझा उम्मेदवारलाई पाखा लगाउँदै स्वतन्त्र नागरिक समाजका बाबुराम भुसाल अध्यक्षमा निर्वाचित हुनुभयो।

त्यो झिनो मतले होइन, चार दलिय गठबन्धनका उम्मेदवार युवराज खत्रीलाई १ सय २० मतान्तरले पराजित गर्दै अध्यक्षमा जीत हासिल गर्नुभयो।

भुसालले ५ सय ६३ र खत्रीले ४ सय ४३ मत प्राप्त गर्नुभयो। १ हजार ७ सय ३१ उपभोक्ता मध्ये मतदानमा १ हजार ६८ मत खसेको थियो । खत्री कांग्रेस कार्यकर्ता हुन् ।

भदौ २४ को जेन–जी प्रदर्शनपछि भुसालले कांग्रेस सन्धिखर्क नगर सभापति पदसहित पार्टी परित्याग गरेर स्वतन्त्र हुनु भएको थियो। उहाँले जिल्लाको कांग्रेस नेतृत्वप्रति असन्तुष्ट जनाउँदै पार्टी छाड्नु भएको थियो। ९ सदस्यीय कार्यसमिति र ३ सदस्यीय लेखा समितिका सबै पदमा भागबन्डा गरेर चार दलका सन्धिखर्क नगरस्तरीय नेताले विज्ञप्ति निकालेर खत्री नेतृत्वको टिमलाई जिताउन उर्दी जारी गरेका थिए ।

त्यस्तै बुधबार साँझ कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठ र सचिव अच्युत गौतमले विज्ञप्ति निकालेर बाबुरामलाई पार्टीले कारबाही गरेको र खत्री नेतृत्वको टिमलाई जिताउन उपभोक्तामा ह्वीप जारी गरेको थियो । भुसाललाई राष्ट्रिय स्वतन्त्र पार्टी, जेन–जी समूह र स्वतन्त्र व्यक्तिले समर्थन गरेका थिए ।

चार दलको घेराबन्दीका बीच मतदाताले स्वतन्त्रपूर्वक मत दिएर जिताएको र खानेपानीका हरेक समस्यालाई समाधान गर्ने काममा उपभोक्ताको मर्म र भावना अनुसार आफूले काम गर्ने नवनिर्वाचित भुसालले बताउनुभयो । ‘सबै उपभोक्तालाई शुद्ध पानी खुवाउँछौं, हरेक ठाउँमा श्रमदान गर्नेछौं ।’

दुईवटा विज्ञप्ति प्रति दलले सिन्डिकेट लगाउन खोजेको भन्दै उपभोक्ता आक्रोशित बनेका थिए । जिल्लामा रहेका सामाजिक संघसंस्थामा दलका शीर्ष नेता मिलेर भागबन्डा गर्ने र आफू नजिकैका कार्यकर्तालाई पद बाँड्ने दलीय परम्परा एवं सिन्डिकेट सन्धिखर्कका खानेपानीमा तोडिएको स्थानीय युवा कमल भुसालले बताउनुभयो।

भुसाल समूहबाट वरिष्ठ उपाध्यक्षमा वेदराज घिमिरे, कोषाध्यक्षमा सरिता महत क्षेत्री विजयी हुनुभयो । जेन–जी आन्दोलनपछि घिमिरेले एमाले र क्षेत्रीले कांग्रेस परित्याग गरेका थिए । उपाध्यक्षमा गठबन्धनबाट भेषबहादुर क्षेत्री, सचिव जीवलाल पौडेल र सहसचिवमा कल्पना पोखरेल विजयी हुनुभयो। सदस्यहरूमा गठबन्धनकै उम्मेदवार नवीन सुनार, मोतिलाल खनाल, कमला अर्याल विजयी हुँदा लेखा समिति संयोजकमा गठबन्धनकै सुनिता बेल्वासे विजयी हुनुभयो।

सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाइ नगर आयोजना उपभोक्ता मूल संस्थाले सदरमुकामको सन्धिखर्क, चुत्रावेशी लगायतका ठाउँमा खानेपानी सेवा सञ्चालन गर्दै आएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार