सुरक्षित तथा पर्याप्त खानेपानी उपलब्ध गराए बापत बर्दघाट खानेपानी सम्मानित

  प्रकाश न्यौपाने  579 पटक हेरिएको

नवलपरासी : बर्दघाट नगरपालिकाले बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई सम्मान गरेको छ। आफ्नो सेवा क्षेत्रमा सुरक्षित र पर्याप्त खानेपानी वितरण गरेबापत संस्थालाई बर्दघाट नगरपालिकाले विशेष सम्मान गरेको हो।

बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आवश्यक सबै मापदण्ड तथा प्रक्रिया पूरा गरी खानेपानी पिउनका लागि सुरक्षित रहेको सुनिश्चित भए पछि मात्र वितरण गर्ने गरिएको छ।

नगरपालिकाले खानेपानी, सरसफाई तथा स्वच्छता ऐन २०८१ तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा निर्देशिका २०८२ अनुसार गरिएको मूल्यांकनमा संस्था योग्य ठहरिएको जनाएको छ।

सम्मान हस्तान्तरण गर्दै बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले समुदायमा सुरक्षित खानेपानी वितरण सुनिश्चित गर्न समर्पित गरेको प्रयास प्रशंसनीय रहेको बताउनुभयो।

त्यसैगरी, राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ तथा खानेपानी गुणस्तर मापदण्ड कार्यान्वयन तथा अनुगमन निर्देशिका २०७९ अनुरूप बर्दघाट क्षेत्रका उपभोक्तालाई सुरक्षित पानी उपलब्ध गराउने सेवामा संस्था उत्कृष्ट रहेको खानेपानी तथा सरसफाइ कार्यालय नवलपरासीका प्रमुख दिनेश प्रसाद शाहले उल्लेख गर्नुभयो।

संस्थाका अध्यक्ष दिपक लम्सालले बर्दघाट नगर तथा जिल्ला खानेपानी तथा सरसफाइ कार्यालयले प्रदान गरेको सम्मानले संस्थालाई थप जिम्मेवार बनाएको बताउनुभयो। “सम्मान प्राप्त भएपछि आगामी दिनमा अझ प्रभावकारी, दिगो तथा व्यवस्थित रूपमा खानेपानी सेवा विस्तार र गुणस्तर उकास्न प्रेरणा मिलेको छ” लम्सालले भन्नुभयो।

यो सम्मान बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २५ औँ वार्षिक साधारण सभाका अवसरमा प्रदान गरिएको हो। हाल संस्थाले २२ वटा टोल विकास समिति मार्फत ४ हजार २ सय २५ उपभोक्तालाई निरन्तर सुरक्षित र पर्याप्त खानेपानी वितरण गर्दै आएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार