
बर्दिबास : मधेश प्रदेशका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका महिला पदाधिकारीहरुका लागि लैंगिक समानता, सामाजिक समावेशीकरण र सुशासन सम्बन्धी तालिम सुरु भएको छ ।
मधेस प्रदेशका सबै जिल्लाबाट प्रतिनिधित्व हुने गरी आयोजना गरिएको तालिममा दिगो विकास लक्ष्य अनुरूप सबैका लागि सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छतामा पहुँच अभिवृद्धि, अर्थपूर्ण सहभागिता, गुणस्तरीय सेवा प्रवाह र लैंगिक सवालमा वकालतलाई सुदृढ बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

तालिममा उपभोक्ता समितिमा सुशासनका सिद्धान्तको प्रयोग, योजना निर्माण प्रक्रिया, विवाद समाधान र संवाद, लैंगिक समानता तथा सामाजिक समावेशीकरणका विषय, तथा महिला पदाधिकारीको भूमिका सम्बन्धी सामग्रीहरू खेल र प्रस्तुतीकरण मार्फत सहजीकरण गरिएको छ । सहजीकरण मनिमा बुढाथोकी, सुजाता सिंह र सिर्जना शाक्यले गरिरहनु भएको छ।

कार्यक्रममा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) का अध्यक्ष राजेन्द्र अर्यालले तालिमले उपभोक्ता समितिमा अर्थपूर्ण सहभागिता, सामाजिक समावेशीकरण, गुणस्तरीय सेवा प्रवाह तथा दिगो विकास लक्ष्यसँग सम्बन्धित आधारस्तम्भहरूलाई दैनिक कार्य, योजना निर्माण तथा कार्यान्वयनमा प्रभावकारी रूपमा लागू गर्न सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो।

खानेपानी उपभोक्ता महासंघ, सबल नेपाल र माहुली सामुदायिक विकास केन्द्रको संयोजनमा वेल्ट हंगर हिल्फे (WHH) र वाटर एड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन तालिम सञ्चालन गरिएको हो ।

बर्दिबास नगरपालिकाकी उपप्रमुख तारादेवी महतोको प्रमुख आतिथ्यमा सुरु भएको तालिममा उर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयका वरिष्ठ इन्जिनियर मिहिर चन्द्र आचार्य, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालका अध्यक्ष राजेन्द्र अर्याल, वेल्ट हंगर हिल्फे (WHH) नेपालका प्रतिनिधि नविन राना मगर, द्धारिका घिमिरे, प्रताप श्रेष्ठ लगायतको उपस्थिती थियो ।




998 पटक हेरिएको 

