
स्याङ्जा : खानेपानी तथा सरसफाई डिभिजन कार्यालय स्याङ्जाले भौतिक १६ प्रतिशत र वित्तीय ९ प्रतिशत प्रगति हासिल गरेको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिकमा खानेपानी कार्यालयले चालु र पुँजीगततर्फ समग्रमा भौतिकतर्फ १६ प्रतिशत र वित्तीयतर्फ ९ प्रतिशत प्रगति हासिल गरेको हो ।
कार्यालयले पहिलो चौमासिकमा चालुतर्फ २० र पुँजीगत शीर्षकमा २० प्रतिशतका दरले प्रगति हासिल गर्ने लक्ष्य लिएको थियो । चालुतर्फको भौतिक प्रगति झण्डै २० र वित्तीय १६ प्रतिशत प्रगति भएकोमा पुँजीगततर्फ भने भौतिकमा करिब १५ र वित्तीयतर्फ ८.६० प्रतिशत प्रगति हासिल गरेको हो । चालु र पुँजीगत खर्चको समग्रमा भौतिक १६ र वित्तीय ९ प्रतिशत प्रगति हासिल भएको कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षमा चालु खर्च शीर्षकमा विनियोजित तीन करोड ४२ लाख ५० हजार रुपैयाँको १६ प्रतिशत अर्थात ५४ लाख ८० हजार र पुँजीगत शीर्षकमा विनियोजित ३७ करोड ७७ लाखको ८.६० प्रतिशतले हुने तीन करोड २४ लाख खर्च भएको कार्यालयका इन्जिनियर कमल बरालले बताए ।
विनियोजित चालु र पुँजीगत शीर्षकको ४१ करोड १९ लाख बजेटको ९.२३ प्रतिशतले हुने तीन करोड ८० लाख रुपैयाँ खर्च हुँदा समग्रमा १६ प्रतिशत भौतिक प्रगति हासिल भएको इन्जिनियर बरालले जनाए । यहि अवधिमा पाइप फिटिङ र टुल्स खरिद कार्यको चार वटा ठेक्का लगाएको समेत उनले जानकारी दिए ।
पुँजीगत शीर्षकको संघ विशेष अनुदान आयोजनातर्फ एक करोड ५५ लाख, मर्मत सम्भार तथा प्रणाली सुदृढीकरण आयोजनामा ६ करोड २९ लाख, क्रमागत आयोजनालाई १५ करोड २५ लाख, बहुवर्षीय स्रोत सुनिश्चितका लागि १२ करोड ९३ लाख विनियोजन भएको छ । संघको सशर्त अनुदानतर्फ केन्द्रीय खानेपानी आयोजनाका लागि ५० लाख, जलवायु अनुकुलित वृहत खानेपानी आयोजनामा ५० लाख र खानेपानी सेवा विस्तार तथा पुनस्र्थापना कार्यक्रमलाई ७५ लाख गरी ३७ करोड ७७ लाख बजेट विनियोजन भएको कार्यालयले जनाएको छ ।
प्रदेश सरकार बनेसँगै स्याङ्जास्थित डिभिजन कार्यालयले स्याङ्जा र कास्की दुवै जिल्लाका आयोजना सञ्चालन गर्दै आएको छ । दुवै जिल्लामा चार ठूलासमेत गरी क्रमागत योजनातर्फ २८१ सञ्चालनमा छन् भने चालु वर्षदेखि थपिएका नयाँ १२१ गरी कुल ४०२ वटा आयोजना कार्यान्वयनमा रहेको कार्यालयले जनाएको छ । क्रमागत योजनामध्ये अधिकांश योजना यसै वर्ष निर्माण सम्पन्न हुने छन् ।
कार्यालयका अनुसार गएको आर्थिक वर्ष २०८१/०८२ मा ठूला आयोजनामध्ये कास्कीको मादी गाउँपालिका–४ मा सञ्चालित थुमाकोडाँडा खानेपानी आयोजना ७५ प्रतिशत, मादी गाउँपालिकाकै वडा–८ र ९ को बर्दीमजुरे खानेपानी आयोजना ८० प्रतिशत, पोखरा महानगरपालिका–२४ मा सञ्चालित लौरुकखोला लिफ्टिङ खानेपानी आयोजना ९५ प्रतिशत र स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा–४ स्थित बिर्घा सिमलबगर खानेपानी आयोजना झण्डै ९० प्रतिशत काम सकिएको छ ।
गएकै वर्ष स्याङ्जाको चापाकोट नगरपालिकास्थित छरछरे खानेपानी आयोजना, वालिङ नगरपालिकाको ठूलोपँधेर मुल संरक्षण आयोजना, पाँग्रझ्याल रानाथर नेपालीडाँडा लिफ्टिङ खानेपानी आयोजना, झल्र्याङदी लिफ्टिङ खानेपानी आयोजना र कालीगण्डकी गाउँपालिकाको खोर्दी खानेपानी आयोजना गरी पाँच आयोजना सम्पन्न भएको कार्यालयले जनाएको छ ।
त्यसैगरी कास्कीस्थित पोखरा महानगरपालिका–२८ को छहरे देउमाडी लिफ्टिङ खानेपानी आयोजना र रुपा गाउँपालिका वडा–६ को आपुखोला भार्ले चिसापानी लिफ्टिङ खानेपानी आयोजना निर्माण सकिएर पूर्णरुपमा सञ्चालनमा आएको सव–इन्जियिनर आशिष कार्कीले बताएको खबर कारोबार दैनिकले प्रकाशन गरेको छ।


199 पटक हेरिएको 

