
डडेलधुरा : अमरगढी नगरपालिकामा स्थायी डम्पिङ साइट नहुँदा सदरमुकाम नजिकैको अमरगढी पार्क छेउमा वर्षौंदेखि फोहर थुपारिँदै आएको छ। नगरपालिकाको अधिकांश फोहर यही अस्थायी स्थलमा राखिँदा स्थानीय बासिन्दा दुर्गन्ध, धुवाँ र वातावरणीय प्रदूषण सहन बाध्य छन्। नगर क्षेत्रमा फोहरको मात्रा वर्षेनि बढ्दै गए पनि व्यवस्थापनका लागि दीर्घकालीन समाधान निकाल्ने काम भने अघि बढ्न सकेको छैन।
मालम गाउँका स्थानीय नरबहादुर तमोली भन्छन्, “दैनिक हिँडडुल हुने बाटो छेउमै फोहर राख्दा दुर्गन्ध यति बढ्छ कि हामीलाई हिडडुल गर्नै गाह्रो हुन्छ।” उनका अनुसार नगरपालिका वर्षौंदेखि वैकल्पिक स्थल खोज्ने भन्दै आए पनि कुनै ठोस निर्णय कार्यान्वयनमा नआएपछि समस्या झनै चर्किएको छ। उनी तत्काल डम्पिङ साइट अन्यत्र स्थानान्तरण गर्नुपर्ने माग गर्छन्।
बागबजार, तुफानडाँडा, कीर्तिपुर र खलंगा जस्ता मुख्य बजार क्षेत्रबाट संकलित फोहर अहिले मालम गाउँ जाने सडक छेउमा नै फालिन्छ। घर–घरमै गएर फोहर उठाइए पनि उचित व्यवस्थापन नहुँदा सबै फोहर बजार नजिकैको बन क्षेत्रमा फालिँदै आएको छ। स्थानीय सुरत तमोलीका अनुसार धेरै पटक आन्दोलन, हस्ताक्षर संकलन र पहल गरे पनि डम्पिङ साइट हटाउनेबारे कुनै प्रभावकारी कदम नगरपालिका पक्षबाट देखिने गरी उठाउन सकेको छैन। २०८० पुसमा भएको सर्वपक्षीय छलफलले तीन महिनाभित्र नयाँ स्थल व्यवस्थापन गर्ने निर्णय गरे पनि त्यो कार्य अझै अघि बढेको छैन।
पहिले अमरगढी–७ को कुइयाधारमा फोहर थुपारिँदै आएकोमा स्थानीयको गुनासो बढेपछि नगरपालिका नयाँ ठाउँ खोज्न बाध्य भएको थियो। त्यसपछि सदरमुकामबाट करिब २ किलोमिटर टाढा मालम गाउँ जाने सडक किनारमा अस्थायी रूपमा फोहर राख्न थालियो। तर यो स्थान पनि उपयुक्त नदेखिएपछि अहिले स्थायी डम्पिङ साइटको खोजी भइरहेको छ।
नगरपालिकाका सूचना अधिकारी मीनराज ओझाका अनुसार स्थायी डम्पिङ साइट निर्माणका लागि अमरगढी–६ को गुईलेगडामा जग्गा खरिद गरिसकिएको छ। तर स्थानीयको असन्तुष्टि र अवरोधका कारण निर्माण कार्य अघि बढ्न सकेको छैन।
गुईलेगडाका स्थानीयले संघर्ष समिति गठन गरी डम्पिङ साइट निर्माणविरुद्ध आन्दोलन चर्काइिरहेका छन्। संघर्ष समितिका संयोजक गंगा ताम्रकारका अनुसार घना बस्ती नजिक भएकाले फोहर व्यवस्थापनका लागि गुईलेगडा उपयुक्त छैन। स्वास्थ्य जोखिमको डर देखाउँदै उनीहरूले वैकल्पिक स्थल खोज्न माग गर्दै नगरपालिका, डिभिजन वन कार्यालय र जिल्ला प्रशासनमा ज्ञापनपत्रसमेत बुझाइसकेका छन्।
जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारीका अनुसार गुईलेगडामा १४ रोपनी जग्गा सरकारी दररेटमै खरिद गरिएको र वातावरणीय प्रभाव मूल्यांकन (EIA) समेत भइसकेको छ। तर प्रतिवेदन नआएकाले प्रक्रिया अघि बढ्न सकेको छैन।
यता मालम गाउँ सडक किनारमै कुहिने–नकुहिने सबै फोहर थुपारेर जलाउँदा धुवाँ, दुर्गन्ध र वायु प्रदूषण बढिरहेको छ। स्थायी डम्पिङ साइट निर्माण प्रक्रिया पटक–पटक असफल हुँदै जाँदा अमरगढी नगरपालिकामा दिगो फोहर व्यवस्थापन प्रमुख चुनौतीका रूपमा उभिएको छ। स्थानीयहरू जनप्रतिनिधि र सरोकारवाला निकायबीच समन्वय गरेर तत्काल दीर्घकालीन समाधान निकालिनुपर्ने माग गर्दै आएका छन्।


157 पटक हेरिएको 

