
नवलपरासी: पश्चिम नवलपरासीको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, बर्दघाट–४ अन्तर्गत सञ्चालित खानेपानी सुरक्षा योजना समितिले स्थानीय शिवनगर आमा समूहसँगको समन्वयमा एकदिने अन्तरक्रिया तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा खानेपानी सुरक्षा योजना समिति संयोजक कमल थापाले संस्थाको वार्षिक योजना अनुसार कार्यक्रम अघि बढाइएको उल्लेख गर्दै “मुहानदेखि मुखसम्म शुद्ध पानी” उपलब्ध गराउनु नै संस्थाको मुख्य उद्देश्य रहेको बताउनुभयो।
त्यसैगरी, संस्थाका पूर्व अध्यक्ष ईन्द्र कुमार रानाले संस्थाको गरिमा जोगाइ राख्न सबै सरोकारवालाहरू जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो। विदेश भ्रमणका क्रममा देखिएका सरसफाइ तथा खानेपानी व्यवस्थापनका अनुभवहरू साटासाट गर्दै उहाँले खानेपानी सुरक्षा प्रति निरन्तर सचेत रहन आग्रह गर्नुभयो।
संस्थाका अध्यक्ष दिपक लम्सालले भूमिगत पानी जोगाउन वृक्षारोपण, मुहान तथा ताल संरक्षण, कृत्रिम ताल निर्माण जस्ता पहल आवश्यक रहेको बताउनुभयो। क्लोरिनयुक्त पानीमा तामाको भाँडा प्रयोग नगर्न अनुरोध गर्दै संस्थाले वितरण गर्ने पानी अतिरिक्त फिल्टर नगरी नै पिउन योग्य हुने जानकारी दिनुभयो।
कोषाध्यक्ष राधा देवी अधिकारीले संस्थाको आर्थिक विवरण प्रस्तुत गर्दै कार्तिक मसान्तसम्म १२ वटा बैंक खातामा जम्मा ४ करोड ६४ लाख ४६ हजार २ सय ७४ बचत रहेको जानकारी दिनुभयो। संस्थाका व्यवस्थापक विष्णु भुसालले पानीको नियमित परीक्षण पछि मात्र उपभोक्ता माझ वितरण गरिने भएकाले निश्चिन्त भएर प्रयोग गर्न आग्रह गर्नुभयो।
शिवनगर आमा समूहकी अध्यक्ष सुनिता देवकोटाले २४ घण्टा शुद्ध खानेपानी उपलब्ध गराइरहेकोमा संस्थाप्रति आभार व्यक्त गर्दै यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो। सहभागी आमा समूहका प्रतिनिधिहरूले मुहान संरक्षण, पानीको बचत तथा सरसफाइ कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउन सुझाव पेश गर्नुभयो।

कार्यक्रममा शिवनगर आमा समूहका सदस्य, संस्थाका पदाधिकारी, सुरक्षा समिति, कर्मचारी, पत्रकार लगायत ४५ जनाको सहभागिता रहेको संस्थाले जनाएको छ।

328 पटक हेरिएको 

