नवलपुरका होटलहरूले प्रयोग गर्दैनन् प्लास्टिक

  वास खबर सम्बाददाता  176 पटक हेरिएको

नवलपुर : नवलपुरका होटल, लज र होमस्टेहरू प्लास्टिकको प्रयोग निरुत्साहित गर्ने अभियानमा सक्रिय बन्दै गइरहेका छन्। कावासोती नगरपालिकाभित्रका थुप्रै होटल र होमस्टेहरूले दैनिक प्रयोग हुने प्लास्टिक सामग्रीलाई विस्थापित गर्दै सिसा, फाइबर तथा बाँस–खरबाट बनेका परम्परागत वस्तुका प्रयोगलाई प्राथमिकता दिन थालेका छन्।

पर्यटन समिति नवलपुरका अध्यक्ष फंसराम महतोका अनुसार कावासोतीको मध्यवर्ती क्षेत्रमा रहेका थारू गाउँ रिसोर्ट, टाइगर टप्स थारू लज, टेम्पल टाइगर, नाना होटल, थारू कम्युनिटी लज रिसोर्ट, हिमालय सेन्चुरी, होटल नेचर एज, बरौली सामुदायिक होमस्टेसहितका संस्थाहरूले प्लास्टिक प्रयोग रोक्ने पहललाई प्रभावकारी रूपमा अघि बढाइरहेका छन्।

पाहुनाहरूलाई प्रदान गरिने पानी सिसा वा फाइबरका बोतलमा राख्ने, कक्ष तथा भोजन कक्षमा सिसाका गिलास र धातुका भाँडाकुँडा प्रयोग गर्ने, र होटल सञ्चालनमा आवश्यक अधिकांश सामग्री परम्परागत विकल्पबाट प्रयोग गर्ने चलन बढेको अध्यक्ष महतो बताउँदै भन्नुहुन्छ, “हामी प्लास्टिकको सट्टा वातावरणमैत्री विकल्पलाई निरन्तर प्रोत्साहित गर्दै आएका छौँ।”

प्लास्टिकविहीन होटलहरू मध्ये टाइगर टप्स थारू लजका म्यानेजर आसिक गुरुङ भन्छन्, “हामीले भोजन तथा पाहुना सेवा क्षेत्रमा प्लास्टिकका भाँडाकुँडा पूर्ण रूपमा हटाएका छौँ। तर बजारबाट आउने सामग्रीका प्लास्टिक झोलालाई भने एकदमै बाध्यात्मक अवस्थामा मात्र प्रयोग गर्नुपर्ने बाध्यता छ।”

गुरुङका अनुसार प्लास्टिक प्रयोग नगर्दा वातावरण स्वच्छ राख्न मद्दत गर्छ, साथै होटलमा बस्ने पाहुनाको स्वास्थ्यका लागि पनि यो सकारात्मक हुन्छ। विशेष गरी निकुञ्ज र मध्यवर्ती क्षेत्रमा प्लास्टिक निषेधित भएकाले उनीहरूले नीति तथा कानुनको पालना गर्दै प्लास्टिकमुक्त वातावरण निर्माणलाई निरन्तरता दिएका खबर गोरखापत्रले प्रकाशन गरेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार